नेइमार र पिएसजीबीच नयाँ सम्झौताको तयारी

एजेन्सी, कात्तिक २५
फ्रेन्च क्लब पिएसजीले आफ्ना ब्राजिलियन खेलाडी नेइमारसँग नयाँ सम्झौता गर्ने सम्भावना बढेको छ । फ्रेन्च मिडियाका अनुसार नेइमारले पेरिस क्लबसँग सम्झौता थप गर्न इच्छा देखाएपछि दुई पक्षबीच नयाँ सम्झौता हुने वातावरण बन्दै गएको हो ।

ब्राजिलका २८ वर्षीय नेइमार सन् २०१७ मा स्पेनिस बार्सिलोना छाडेर पिएसजीमा पुगेका थिए । त्यसबेला पिएसजीले नेइमारका लागि विश्वकीर्तिमानी २२२ मिलियन युरो सरुवा फी बार्सिलोनालाई तिरेको थियो । पेरिसमा तीन वर्ष बित्दै गर्दा पिएसजीले आफ्ना प्रमुख खेलाडीसँग सम्झौता गर्ने सम्भावना बढेको हो ।

नेइमारले अघिल्लो समर विन्डोमै पूर्वक्लब बार्सिलोना फर्किने इच्छा देखाए पनि हालको अवस्थामा उनी अब स्पेन फर्किन थप कठिनाइ बढेकाले नेइमार पिएसजीमै भविष्यलाई निरन्तरता दिने मनस्थितिमा पुगेका हुन् । पिएसजी छाडेपछि बार्सिलोना फर्किन नसक्दा नेइमारका लागि अर्को राम्रो विकल्प नरहेकाले नेइमारको पिएसजी बसाइ थप लम्बिने भएको हो ।

‘टेलिग्राफ’ले पिएसजी र नेइमारबीच नयाँ सम्झौताका लागि आन्तरिक छलफल अघि बढेको खबर प्रकाशित गरेको छ । नेइमारले पिएसजीमै रहने इच्छा देखाए क्लब त्यसका लागि तयार देखिएको छ । टोलीका अर्का प्रमुख खेलाडी केलियन एमबाप्पेलाई स्पेनकै क्लब रियल मड्रिडले भित्र्याउने तयारी गरिरहेकाले पिएसजी नेइमार र एमबाप्पे एकसाथ गुमाउन चाहँदैन ।

यदि रियल मड्रिड जान एमबाप्पेले क्लब छाडेको खण्डमा नेइमार अन्यत्र नगए त्यो पिएसजीका लागि राम्रै हुनेछ । उसले एमबाप्पेबाट राम्रो पैसा कमाउँछ र त्यो पैसा नयाँ खेलाडीमा लगानी गरेर नयाँ ढंगले टोली निर्माण गर्न सक्छ ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार २१:४७
Loading...