अन्तिम समयमा डिबाला अर्जेन्टिनी टोलीबाट बाहिर

एजेन्सी, कात्तिक २५
अर्जेन्टिनाका स्टार खेलाडी पाउलो डिबाला अन्तिम समयमा राष्ट्रिय टोलीबाट बाहिर भएका छन् । यससँगै अर्जेन्टिनाले विश्वकप छनौटअन्तर्गत आगामी दुई खेल खेल्दा डिबालाले ती खेल गुमाउने पक्का भएको छ । अर्जेन्टिनाको राष्ट्रिय टोलीले अफिसियल रूपमा जानकारी दिँदै डिबाला चोटका कारण टोलीबाहिर रहेको पुष्टि गरेको छ ।

आइतबार युभेन्टसले सिरी ए लिगमा लायिजयोविरुद्ध खेल्नेक्रममा डिबालाले चोट बोकेका हुन् । खेलपछि चेकजाँच गर्दा उनले तत्कालै खेल्न नसक्ने पुष्टि भएको थियो । आफू घाइते भएको कुरा उनले राष्ट्रिय टोलीमा जानकारी गराएपछि उनको नाम टोलीबाट हटाइएको राष्ट्रिय टिमले ट्वीटरमार्फत् बताएको छ ।

अर्जेन्टिनाले शुक्रबार बिहान आफ्नो भूमिमा पराग्वेसँग पहिलो खेल खेल्नेछ । त्यसपछि नोभेम्बर १८ तारिखमा अवे मेदानमा पेरूसँग खेल्ने तालिका छ । डिबालाले यी दुवै खेल गुमाउनेछन् । उनले यसअघि अघि अक्टोबर महिनामा भएको बोलिभियाविरुद्धको दोस्रो छनौट खेल पनि चोटकै कारण गुमाएका थिए ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार २०:५८
Loading...