एक दिनअघि पोर्चुगलका प्रशिक्षकले भने– ‘रोनाल्डोले ३ वटै खेल खेल्नेछन्’

एजेन्सी, कात्तिक २५
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सामान्य चोटका बाबजुद पनि राष्ट्रिय टोलीका आगामी खेल खेल्ने पक्का भएको छ । प्रमुख प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डो खेल्नका लागि फिट रहेको स्पष्ट पारेका छन् । बुधबार राति हुने मैत्रीपूर्ण खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै सान्तोषले रोनाल्डोको अवस्थाबारे जानकारी गराएका हुन् ।

बुधबार राति पोर्चुगलले घरेलु मैदानमा आन्डोरासँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि युइएफए नेसन्स लिगमा दुई खेल हुनेछन् । रोनाल्डो यी ३ वटै खेल खेल्न उपलब्ध हुने सान्तोषले बताएका छन् । ‘क्रिस्टियानोले युभेन्टसमा केही असहज महसुस गरेका थिए । उनको चोटलाई लिएर केही चिन्ता थियो । तर, यहाँको मेडिकल टिमको जाँचपछि उनमा खास समस्या देखिएन,’ सान्तोषले भने ।

सान्तोषले यो बताएका छन् कि, रोनाल्डोले मंगलबार समूहमा प्रशिक्षण गरेका छन् । ‘खेलको एक दिनअघि उनले राम्रोसँग प्रशिक्षण गरेका छन् । उनी आगामी तीन वटै खेलका लागि हामीसँग उपलब्ध हुनेछन्,’ सान्तोषले भने, ‘उनको उपस्थितिले हामी खुसी छौं ।’

आइतबार युभेन्टसले सिरी ए लिगमा अवे मैदानमा लाजियोसँग खेल्नेक्रममा रोनाल्डोको खुट्टाको जोर्नी र गोलीगाँठोमा केही समस्या देखिएपछि ७५औं मिनेटमा मैदान छाडेका थिए । सो खेलमा उनले १ गोल समेत गरेका थिए । सो खेलमा चोट बोकेर बाहिरिएपछि रोनाल्डोको फिटनेसलाई लिएर चिन्ता बढेको थियो । तर, उनी फिट रहेको रिपोर्ट आएपछि पोर्चुगल र युभेन्टस दवै टिमलाई ठूलो राहत मिलेको छ ।

बुधबार राति पोर्चुगलले पहिलो खेल घरेलु मैदानमा आन्डोरासँग खेलेपछि नेसन्स लिगमा शबिार राति आफ्नै घरमा फ्रान्ससँग खेल्ने तालिका छ । त्यसपछि तेस्रो खेल बुधबार राति क्रोएसियासँग उसकै भूमिमा खेल्ने तालिका छ ।

३५ वर्षका रोनाल्डो हालसम्म राष्ट्रिय टिमका लागि १०१ गोल गरिसकेका छन् । सोक्रममा उनले १६७ खेल खेलेका छन् । रोनाल्डोलाई अब फुटबल इतिहासको सर्वाधिक अन्तर्राष्ट्रिय १०९ गोलको रेकर्ड बराबरी गर्न ८ गोल र तोड्न मात्रै ९ गोल आवश्यक छ । आगामी तीन खेलबाट रोनाल्डोले सकेसम्म धेरै गोल गरेर सो रेकर्ड नजिक पुग्ने प्रयास गर्नेछन् ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार १९:३४
Loading...