घाइते फातीको स्थानमा मार्को एसेन्सियो

एजेन्सी, कात्तिक २५
स्पेनिस फुटबल क्लब बार्सिलोनामा युवा स्टार अन्सु फाती घाइते भएपछि स्पेनको राष्ट्रिय टोलीमा रियल मड्रिडका मार्को एसेन्सियोलाई टोलीमा डाकिएको छ । प्रशिक्षक लुइस इनरिकेले फातीको स्थानमा एसेन्सियोलाई टोलीमा बोलाएका हुन् ।

१८ वर्षका फाती दुई दिनअघि ला लिगामा रियल बेटिसविरुद्ध घाइते भएका थिए । उनको घुँडाको अप्रेसन समेत गरिसकिएको छ । उनी अब चार महिनासम्म मैदान फर्किन सक्नेछैनन् । यसअघि प्रशिक्षक इनरिकेले एसेन्सियोलाई छाडेर फातीलाई टोलीमा समेटेका थिए ।

इनरिकेले पछिल्लो टोलीमा युवा खेलाडीलाई स्थान दिइरहेका छन् । युइफए नेसन्स लिग र मैत्रीपूर्ण खेलमा कम महत्त्वका खेल हुने भएकाले टोलीमा युवा खेलाडीलाई तयार पार्ने उद्देश्यले इनरिकेले अनुभवी खेलाडीलाई छाडेर सकेसम्म युवा खेलाडीलाई बढी समय दिइरहेका छन् ।

एसेन्सियो राष्ट्रिय टोलीमा जोइन भइसकेका छन् । स्पेनले यस चरणको अन्तर्राष्ट्रिय ब्रेकमा एक मैत्रीपूर्णसहित तीन खेल खेल्नेछ । दुई खेल नेसन्स लिगमा हुनेछ । स्पेनले दुई दिनपछि बिहीबार नेदरल्यान्ड्सँग मैत्रीपूर्ण खेल्नेछ । त्यसपछि नेसन्स लिगमा स्वीट्जरल्यान्डसँग र जर्मनीसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार १९:००
Loading...