सरुवा बजारमा हलचल : रोनाल्डोलाई बेच्दै युभेन्टस !

एजेन्सी, कात्तिक २५
विश्व फुटबलको ट्रान्सफर मार्केटमा यतिबेला एक समाचार हट केक बनेको छ– इटालियन क्लब युभेन्सले आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बेच्न ढोका खुला गरेको छ । जारी सिजनको अन्त्यपछि युभेन्टसले रोनाल्डोलाई इटालीबाट बिदा गर्ने तयारी गरेको रिपोर्ट विभिन्न मिडियाले दिइरहेका छन् ।

हाल ३५ वर्ष पुगेका रोनाल्डो सन् २०१८ मा स्पेनिस रियल मड्रिडबाट युभेन्टस पुगेका थिए । रोनाल्डोलाई रियलले त्यसबेला ११६ मिलियन युरोमा बेचेको थियो । इटालियन महारथि युभेन्टससँग रोनाल्डोले सन् २०२२ सम्मका लागि सम्झौता गरेका छन् । तर, रोनाल्डोसँग सम्झौता सकिन एक वर्ष बाँकी छँदै युभेन्टसले पाँचपटकका बालोन डि‘ओर खेलाडीलाई बेच्ने तयारी गरेको खबर छ ।

युभेन्टसले रोनाल्डोलाई युरोपियन च्याम्पियन्स लिग जित्ने महत्त्कांक्षी योजनासाथ भित्र्याएको थियो । तर, रोनाल्डोसहितको युभेन्टस दुई सिजन अन्तिम आठभन्दा अघि बढ्न सकेन । जारी सिजन युभेन्टस अझै पनि च्याम्पियन्स लिग जित्ने होडमै छ । रोनाल्डो अहिले पनि युभेन्टसको टोलीमा सबैभन्दा प्रमुख खेलाडी हुन् । र, उनले टिमलाई सबैभन्दा ठूलो योगदान दिइरहेका छन् ।

तर, युभेन्टसले रोनाल्डोको बढ्दो उमेरलाई ध्यान दिएर यदि रोनाल्डो इच्छुक भए उनलाई थोरै मूल्यमा भए पनि बेच्न इच्छुक देखिएको छ । सम्झौता अवधि सकिएपछि रोनाल्डोले फ्रि ट्रान्सफरमा क्लब छाड्ने भएकाले युभेन्टसले त्यसअघि नै रोनाल्डोलाई बेचेर थोरै भए पनि रकम लिन खोजेको देखिन्छ ।

तर, रोनाल्डोको सरुवा विषयमा हालसम्म युभेन्टसका कुनै पनि अधिकारीले सार्वजनिक रूपमा केही बताएका छैनन् । गत समर सिजनबाटै रोनाल्डोको फ्रेन्च क्लब पिएसजीसँग जोडिएर आइरहेको छ । यो सिजन सकिँदा ३६ वर्ष पुग्ने रोनाल्डोको नयाँ गन्त्व्य कहाँ हुन सक्छ भन्ने चासो बढेको छ ।

हाल पोर्चुगिज टोलीमा रहेका रोनाल्डोले जारी सिजन युभेन्टसमा राम्रो सुरुआत गरेका छन् । उनले सिरी ए लिगमा मात्रै ३ खेलबाट ५ गोल गर्दै १ गोलमा असिस्ट गरेका छन् भने च्याम्पियन्स लिगमा उनले एक खेल्दै १ असिस्ट प्रदान गरेका छन् ।

युभेन्टसमा तेस्रो सिजन बिताइरहेका रोनाल्डोले हालसम्म सो क्लबमा ९४ खेलबाट ७१ गोल गरेका छन् । उनले त्यहाँ दुई सिरी ए लिगसहित एक कोपा इटालियाको उपाधि पनि जितेका छन् ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार १८:३०
Loading...