बार्सिलोनाका लिजेन्ड खेलाडी इटोको कार दुर्घटना

एजेन्सी, कात्तिक २५
स्पेनिस फुटबल क्लब बार्सिलोना तथा क्यामरुनका लिजेन्ड खेलाडी सामुएल इटो कार दुर्घटनामा परेका छन् । क्यामरुनको डुआला र बाफोसम क्षेत्रमा इटो सवार कार अघिल्लो दिन दुर्घटनामा परेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । इटो चढेको कार बिपरीत दिशाबाट आइरहेको यात्रुवाहक बससँग ठोक्किएको थियो ।

बस र कार आपसमा ठोक्किए पनि सबैे जना सकुशल रहेका छन् । आफैं कार हाँकिरहेका इटोलाई सामान्य चोट लागेको थियो । दुर्घटनापछि उनी आफैं कार हाँकेर उपचारका लागि अस्पताल पुगेका थिए । उनको टाउको, घुँडा र पाखुरामा सामान्य चोट परेको छ ।

दुर्घटनामा परेर इटोलाई शारीरिक रूपमा ठूलो चोट नपरे पनि उनको कारको अगाडिको भाग पूर्ण रूपमा बिग्रिएको छ । इटोले दुर्घटनापछि आफ्नो अवस्थालाई लिएर चिन्ता गर्ने सबैप्रति सन्देश दिँदै आफू ठीक रहेको बताएका छन् ।

हाल ३९ वर्ष पुगेका इटोले गत वर्ष मात्रै फुटबलबाट सन्यास लिएका थिए । उनले २२ वर्ष फुटबल खेलाडीका रूपमा बिताए । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन् २०१४ मै सन्यास लिइसकेका थिए । इटोले व्यावसायिक करिअरमा कूल ७१८ खेलबाट ३५९ गोल गर्दै ११६ असिस्ट गरेका छन् । उनले क्यामरुनको राष्ट्रिय टोलीबाट ११८ खेल खेल्दै ५६ गोल गरेका छन् ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार ०८:३२
Loading...