फातीको अप्रेसन सफल : चार महिना मैदानबाहिर रहने पक्का

एजेन्सी, कात्तिक २४
स्पेनिस फुटबल क्लब बार्सिलोनाका युवा खेलाडी अन्सु फातीको शल्यक्रिया सफल भएको छ । आज सोमबार बार्सिलोनाले अफिसियल रूपमा एक प्रेस नोट जारी गर्दै १८ वर्षीय खेलाडीको घुँडाको शल्यक्रिया भएको जानकारी दिएको छ ।

यससँगै फाती अब कम्तीमा चार महिनासम्म मैदानबाहिर हुनेछन् । फातीको रिकभरी प्रक्रियाका आधारमा यो अवधि अझै लम्बिन पनि सक्छ । बार्सिलोनाले फाती चार महिनापछि मैदान फर्किन तयार हुने विश्वास लिएको छ ।

फाती शनिबार ला लिगाअन्तर्गत घरेलु मैदानमा भएको रियल बेटिसविरुद्धको खेल दौरान घाइते भएका थिए । चोटका कारण उनले पहिलो हाफ मात्रै खेलेका थिए । उनको देब्रे घुँडामा चोट परेको थियो । चोट बोकेको २ दिनपछि बार्सिलोनाले थप जाँचसहित फातीको शल्यक्रिया गरेको हो । फातीको शल्यक्रिया डाक्टर रोमोन कौगटको नेतृत्वमा क्लबकै मेडिकल टिमले गरेको पनि बार्सिलोनाले जनाएको छ ।

१८ वर्षका फातीले हालसम्म बार्सिलोनाको सिनियर टोलीका लागि कूल ४३ खेल खेल्दै १३ गोल गरेका छन् भने ३ असिस्ट गरेका छन् । जसमा उनले ला लिगामा ११ गोल र च्याम्पियन्स लिगमा २ गोल गरेका छन् ।

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार २२:१५
Loading...