भ्यालेन्सियासँगको ‘खराब हार’ पछि जिदानले उठाए हात !

काठमाडौं, एजेन्सी २४
स्पेनिस ला लिगा फुटबलमा आइतबार राति साबिक विजेता रियल मड्रिडले नयाँ सिजनको सबैभन्दा खराब हार भोग्यो । लिगको आठौं खेल खेल्न भ्यालेन्सियाको घरमा पुगेको रियल नाटकीय खेलमा ४–१ ले स्तब्ध बन्यो । रियलको खराब रक्षापंक्ति र पटक–पटकका गल्तीका कारण भ्यालेन्सियाले रियलविरुद्ध कूल चार पेनाल्टी हानेकोमा तीनपटक गोल गर्न सफल भयो । त्यत्ति मात्रै हैन, रियलले १ आत्मघाती गोलसमेत गरेपछि खेल भ्यालेन्सियाले जित्यो ।

भ्यालेन्सियाको घरमा सुरुआती अग्रता लिए पनि रियलले त्यसपछि खेलभरि नै खराब प्रदर्शन गरेको थियो । रियलको डिफेन्स लाइन सम्हाल्ने प्रमुख खेलाडीहरू कप्तान सर्जियो रामोस, लुकास भासक्वेज, मार्सेलोले बक्समा गल्ती गर्दा तीन पेनाल्टीको सामना गर्नुपरेको थियो भने राफाएल भारानेले आत्मघाती गोल गरेका थिए । भ्यालेन्सियासँग रियलको हार ला लिगामा यो सिजनको दोस्रो हार थियो ।

सो खेलपछि रियलका खेलाडी र प्रशिक्षक जिनेदिन जिदानको कडा आलोचना भएको छ । खास गरी भ्यालेन्सियाविरुद्ध टोली छनौटमा जिदानले लापरबाही गरेको भन्दै उनको आलोचना बढेको छ । खेलपछि प्रशिक्षक जिदानले पनि आफ्नो गल्ती स्वीकार्दै हात उठाए । उनले हारको जिम्मा लिँदै आगामी दिनमा सुधार गरेर अघि बढ्ने बताए ।

‘आज हामीले साँच्चै खराब खेल्यौं । हामीले ३ पेनाल्टी गोल खायौं । र, १ आत्मघाती गोल पनि । यो हारको दोष अरूलाई जाँदैन, हामीतिरै फर्किन्छ । म प्रशिक्षकका रूपमा यो हारको जिम्मा लिन्छु,’ जिदानले खेलपछि भने, ‘हामीबाट आज पटक–पटक गल्ती भयो । हामीविरुद्ध ३ वटै पेनाल्टी निर्णय भिएआरबाट भए । र, म भिएआरको विरोधमा बोल्न सक्दिनँ । म खेलको नियमको सधैं सम्मान गर्छु । हामीले गल्ती गर्दाको मूल्य चुकाएका हौं ।’

जिदानले खेलमा कहिलेकाहीं दुर्घटना हुने भए पनि आफूहरूले सावधानी अपनाउन नसक्दा खराब नतिजा व्यहोर्नुपरेको बताए । ‘फुटबलमा कहिलेकार्हीं दुर्घटना हुन्छ । तर, यो दुर्घटना थिएन । उनीहरू हामीबाट गल्ती चाहन्थे, हामीले पटक–पटक त्यही गरिदियौं,’ जिदानले भने, ‘हामी यो हारबाट निराश छौं तर चिन्तित छैनौं ।’

जिदानले भ्यालेन्सियासँगको हारको समीक्षा गरेर आगामी दिनमा सुधार गर्ने पनि बताए । ‘फुटबलमा सधैं जित मात्रै सम्भव हुँदैन । आजको हारको समीक्षा हामीले आफैंभित्र गर्नेछौं । र, आगामी दिनमा गल्ती सच्च्याउनेछौं,’ जिदानले थपे, ‘यो एक खराब नतिजा थियो । तर, यसले उपाधि होडमा ठूलो असर पार्दैन । किनभने, लिग भर्खरै सुरु भएको छ ।’

भ्यालेन्सियासँगको हारपछि रियल ८ खेलबाट १६ अंकसहित चौथो स्थानमा झरेको छ । रियल अझै पनि एक खेल कम खेलेको बार्सिलोनाभन्दा ५ अंकले अघि नै छ । शीर्ष स्थानमा रियल सोसिडाड ९ खेलपछि २० अंकसहित रहेको छ ।

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार २१:२३
Loading...