पेनाल्टीले डुबायो रियल मड्रिडलाई : भ्यालेन्सियासँग लज्जास्पद हार !

काठमाडौं, कात्तिक २४
एकै खेलमा तीन पेनाल्टी र एक उपहार गोल पाएपछि स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले रियल मड्रिडलाई लज्जास्पद हार चखाएको छ । गत राति भएको खेलमा भ्यालेन्सियाले आफ्नो घरेलु मैदानमा पाहुना टोली रियलमाथि ४–१ अन्तरको नाटकीय र विवादस्पद जित निकालेको हो ।

रियलमाथि नाटकीय जित निकाल्नेक्रममा भ्यालेन्सियाले आफ्नो घरेलु मैदानमा खेलभरिमा तीन पेनाल्टी गोल हान्यो भने रियल मड्रिडले १ आत्मघाती गोल पनि दियो । भ्यालेन्सियाका कार्लोस सोलरले पेनाल्टीबाटै ह्याट्रिक गोल गर्न सफल भए । यता, रियलका राफाएल भारानेले आफ्नै पोस्टमा १ गोल गरेका थिए ।

भ्यालेन्सियाको घरमा पाहुना टोली रियलले सुरुआती अग्रता लिएको थियो । खेलको २३औं मिनेटमा करिम बेन्जेमाले मार्सेलोको पासमा लामो दूरीबाट शानदार प्रहारमा गोल गरेर घरेलु टोलीविरुद्ध ०–१ को अग्रता दिलाएका थिए । तर, त्यसपछि रियलका लागि खेलभरि नै खराब समय रह्यो । रियलका लागि भिएआरका निर्णय पनि अनुकूल नहुँदा भ्यालेन्सियाले भकाभक पेनाल्टी गोल हानेर घरमा खेल जित्यो ।

खेलको २९औं मिनेटमा रियलका लुकास भासक्वेजले बक्समा ह्यान्ड बल गरेपछि रियललाई झट्का लागेको थियो । भ्यालेन्सियाका कार्लोस सोलेरको पेनाल्टी प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाले सुरुमा बचाउ गरेका थिए । तर, बल रोक्नेक्रममा कोर्टुवाले नियम पालना नगरेको भन्दै रेफ्रीले भ्यालेन्सियालाई दोस्रोपटक पेनाल्टीको अवसर दिइएका थिए, जसमा सोलेरले नै प्रहार गर्दै यसपटक गोल गर्न सफल भए ।

त्यसपछि खेलको ४३औं मिनेटमा रियलका लागि डिफेडन्र भारानले आफ्नै पोस्टमा गोल गरे । म्याक्सी गोमेजको प्रहार क्लियर गर्नेक्रममा उनले आफ्नै पोस्टमा गोल छिराएका थिए । गोललाइन टेक्नोलोजी प्रयोग गरेर सो गोललाई मान्यता दिइएको थियो । सो गोलपछि भ्यालेन्सियाले खेलमा २–१ को अग्रता बनायो ।

त्यसपछि खेलको ५४औं मिनेटमा रियलले फेरि पेनाल्टी गोल खायो । बक्समा रियलका डिफेन्डर मार्सेलोले विपक्षी खेलाडीमाथि बक्समा खराब फउल गरेर लडाएपछि भ्यालेन्सियालाई खेलमा दोस्रो पेनाल्टी दिइएको थियो । जसमा सोलेरले नै पेनाल्टी प्रहार गर्दै खेल ३–१ बनाए ।

रियललाई पेनाल्टी गोलको चोटले त्यत्तिमै छाडेन । खेलको ६३औं मिनेटमा घरेलु मैदानमा भ्यालेन्सियाले तेस्रो पेनाल्टी पायो । यसपटक बक्समा रियलका कप्तान सर्जियो रामोसले ह्यान्ड बल गरेपछि रेफ्रीले भ्यालेन्सियालाई तेस्रोपटक पेनाल्टीको मौका दिए, जसमा सोलेरले नै प्रहार गर्दै खेल ४–१ बनाए । त्यसपछि खेलभरि रियलले थप गोल गर्न सकेन । र, खेल भ्यालेन्सियाले ४–१ ले जित्यो ।

भ्यालेन्सियाको घरमा खराब प्रदर्शन र खराब नतिजापछि रियललाई अंक तालिकामा ठूलो झट्का लागेको छ । यो हारपछि उसले अंक तालिकामा महत्त्वपूर्ण ३ अंक गुमाएको छ । ऊ अब ८ खेलपछि १६ अंकसहित चौथो स्थानमा झरेको छ । भ्यालेन्सिया ९ खेलबाट ११ अंक जोडेर नवौं स्थानमा चढेको छ । शीर्ष स्थानमा ९ खेलबाट २० अंक जोडेको रियल सोसिडाड रहेको छ ।

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार ०७:५५
Loading...