म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी : डे ब्रुयाने पेनाल्टीमा चुके

काठमाडौं, कात्तिक २३
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार टिमहरू म्यानचेस्टर सिटी र लिभरपुलले सिजनको पहिलो खेलमा बराबरी खेलेका छन् । आइतबार राति सिटीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको हो । पछि परेको स्थितिमा सिटीले खेलमा पुनरागमन गरे पनि उसका स्टार खेलाडी केभिन डे ब्रुयाने पेनाल्टीमा चुक्दा सिटी घरेलु मैदानमा जितबाट वन्चित हुन पुग्यो ।

सिटीको घरमा पाहुना टोली लिभरपुलले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो । सिटीका डिफेन्डरले बल लिएर बक्सभित्र छिरेका लिभरपुलका साडियो मानेलाई बक्समा फउल गरेर लडाएपछि रेफ्रीले पाहुना टोलीलाई पेनाल्टी दिएका । जसमा मोहमद सालाहले गोल गर्दै सिटीलाई ०–१ ले पछि पारेका थिए ।

तर, खेलको ३१औं मिनेटमा सिटी खेलमा फर्कियो । ग्याब्रिएल जेससले बक्सभित्र लिभरपुलका डिफेन्डलाई बिट गर्दै सहजै गोल गरेपछि खेल १–१ मा आइपुग्यो । सो गोलमा केभिन डे ब्रुयानेले असिस्ट गरेका थिए । त्यसपछि ४२औं मिनेटमा सिटीले पेनाल्टी पायो । लिभरपुलका डिफेन्डर गोमेजले सिटीका डे ब्रुयानले प्रहार गरेको बल छेक्नेक्रममा बक्सभित्र ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरमार्फत् सिटीलाई पेनाल्टीको मौका दिए ।

तर, बेल्जियन स्टार डे ब्रुयानेले १२ मिटर दूरीबाट गरेको पेनाल्टी प्रहार पोस्टभन्दा बाहिर हानेपछि सिटी पहिलो हाफमै अग्रता लिनबाट चुकेको थियो । त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट खेलभरि नै थप गोल नभएपछि खेल १–१ मा सकियो ।

अब यो बराबरीसँगै लिभरपुलले ८ खेलबाट १७ अंक बनाएर तेस्रो स्थानमा रहेको छ । सिटी भने अझै पनि धेरै नै पछि छ । ऊ ७ खेलबाट १२ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार ००:११
Loading...