बार्सिलोनालाई झट्का : अन्सु फाती लामो समय मैदानबाहिर रहने

एजेन्सी, कात्तिक २३
स्पेनिस फुटबल क्लब बासिलोनालाई ठूलो झट्का लागेको छ । उसका युवा स्टार खेलाडी अन्सु फाती घाइते भएका छन् । शनिबार राति ला लिगामा आफ्नो घरेलु मैदानमा रियल बेटिसविरुद्ध खेल्नेक्रममा १८ वर्षीय फातीले चोट बोकेका हुन् । घुँडामा चोट परेपछि फाती दोस्रो हाफमा मैदान उत्रिएनन् ।

फातीले पहिलो हाफ पूरै समय खेलेर दोस्रो हाफ छाडेका थिए । दोस्रो हाफको सुरुआतमै उनको स्थानमा कप्तान लिओनल मेस्सी मैदान प्रवेश गरेका थिए । फाती खराब ट्याकलमा परेर उनको घुँडामा चोट परेको थियो ।

क्लब बार्सिलोनाले खेलपछि लगत्तै फातीले घुँडाको चोट बोकेको पुष्टि गरे पनि चोटको अवस्थाबारे बिस्तृत जानकारी हालसम्म पनि दिएको छैन । स्पेनिस मिडियाका अनुसार फातीको घुँडाको अप्रेसन गर्नुपर्ने देखिएको छ । बार्सिलोनाले ४८ घन्टसम्मको अवस्था अनुसन्धान गरेर फातीको उपचार शल्यक्रियाबिना नै गर्ने कि शल्यक्रिया गर्ने भन्ने कुराको टुंगो लगाउनेछ ।

रिपोर्टअनुसार फातीको अवस्थाअनुसार उनको शल्यक्रिया नै हुने सम्भावना ज्यादा छ । उनको घुँडाको शल्यक्रिया भए उनलाई पूर्ण रूपमा ठीक हुन ३ महिनासम्म लाग्नेछ । यदि शल्यक्रियाबिना नै उपचार भए पनि उनले एक महिनाका सबै खेल गुमाउनेछन् । फाती घाइते भएसँगै अब उनको स्थानमा एन्टोनी ग्रीजम्यान र उसामान डेम्बेलेले बढी समय पाउनेछन् ।

जारी सिजन फातीले बार्सिलोनाका लागि कूल १० खेल खेल्दै ५ गोल गरेका छन् । उनले ला लिगामा ७ खेलबाट ४ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा ३ खेलबाट १ गोल गरेका छन् । रोनाल्ड कोम्यानको नेतृत्वमा फाती प्रमुख रोजाइमा खेल्दै आएका थिए ।

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार २१:५४
Loading...