९५औं मिनेटमा गोल खाएपछि युभेन्टस जितबाट चुक्यो

काठमाडौं, कात्तिक २३
इन्जुरी समयको अन्तिम १० सेकेन्ड समय बाँकी छँदा गोल खाएपछि इटालियन सिरी ए लिग फुटबलमा युभेन्टस बलियो प्रतिस्पर्धी लाजियोसँग बराबरीमा रोकिएको छ । आज आइतबार भएको लिगको सातौं खेलमा युभेन्टस जितको मुखैमा पुगेर अन्तिम १० सेकेन्ड सम्हालिन नसक्दा गोल खाएपछि उसले लाजियोको घरेलु मैदानमा १–१ को बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका लागि खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । मैदानको माथिल्लो क्षेत्रबाट जुआन काउडराडोले उत्कृष्ट कला देखाउँदै दिएको क्रस पासमा रोनाल्डोले हलुका टचमा बललाई जाली चुमाएका थिए । लाजियोका डिफेन्डरले घेरिएका रोनाल्डोले कठिन अवसरमा कुनै गल्ती नगरी आफ्नो काम सफल पारे । र, टिमलाई ०–१ को अग्रता दिलाए ।

यता, पहिलो हाफमा रोनाल्डोले थप तीन अवसर पाएका थिए । पहिलो अवसरमा उनको खतरनाक प्रहार पोलभन्दा थोरै मात्रै बाहिर गएको थियो । त्यसपछि ४३औं मिनेटमा उनको शक्तिशाली प्रहार पोलमा लागेर फर्किएको थियो । त्यसपछि इन्जुरी समयमा पोस्टको तल्लो बार च्यापेर हानेको उनको शक्तिशाली फ्रि किक प्रहारलाई गोलकिपरले निकै कठिन बचाएपछि रोनाल्डोको गोल संख्या बढ्न पाए ।

दोस्रो हाफमा दुवै टोलीले थोरै मात्रै अवसर बनाए । युभेन्टसले दुईपटक गोलका अवसर बनाउँदा लाजियाले केही सुधार गर्दै दोस्रो हाफमा तीन अवसर बनायो । युभेन्टस ०–१ को जित नजिक पुगेको थियो । तर, ९० मिनेटपछि थपिएको समयको पाँचौं मिनेटको अन्तिम १० सेकेन्ड पाहुना टोली सम्हालिन नसक्दा लाजियोका फिलिपे काइसेडोले उत्कृष्ट गोल गरेपछि खेल १–१ सकियो ।

युभेन्टसका लागि विजयी गोल गरेका रोनाल्डो खेलको ७५औं मिनेटमा चोट बोकेर मैदान छाडेका थिए । खराब ट्याकलमा परेका उनले खेल्न असहज महसुस गरेपछि थप जोखिम नबढाउन प्रशिक्षकले उनलाई तत्कालै सब्सिच्युट गराएका थिए ।

अब यो बराबरीसँगै युभेन्टसले दोस्रो स्थानमा उक्लिने मौका पनि गुमाएको छ । उसले ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा चढेको छ । आजको बराबरीसँगै युभेन्टस यो सिजन चौथोपटक बराबरीमा रोकिएको छ । यता, लाजियोले ७ खेलबाट ११ अंक जोडेको छ ।

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार १९:०९
Loading...