सिरी ए : आज लाजियो र युभेन्टसको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, कात्तिक २३
इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज राति एक रोमाञ्चक खेल हुँदैछ, जहाँ उपाधि दाबेदार टोलीहरू लाजियो र युभेन्टस सिजनको पहिलो खेलमा आमनेसामने हुँदैछन् । यो खेल लाजियोको घरेलु मैदानमा नेपाली समयअनुसार आज साँझ ५ः१५ बजेबाट सुरु हुनेछ ।

साबिक विजेता युभेन्टसलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्न लागेको लाजियो हाल अंक तालिकामा ६ खेलपछि १० अंक बनाएर नवौं स्थानमा छ । उसले ३ खेल जितेर २ खेल बराबरी बराबरी गरेको छ भने १ खेल हारेको छ । यता, युभेन्टसले पनि समान ६ खेलबाट १२ अंक बनाएर तेस्रो स्थानमा रहेको छ । उसले ६ खेलमध्ये ३ खेल जितेर ३ खेल बराबरी गरेको छ ।

आज अवे मैदानामा लाजियोलाई स्पष्ट रूपमा हराउन सके युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेछ । युभेन्टसले पछिल्ला ५ खेलमध्ये मात्रै २ खे जितेर ३ खेल बराबरी गरेको छ । ऊ लिगमा अझैसम्म अपराजित छ । तर, राम्रो स्थितिमा भने छैन । यसअघि युभेन्टसलाई नापोलीसँगको खेल भने नखेली ३–० को जित प्रदान गरिएको थियो । सो खेलमा नापोली खेल्न सहभागी नभएपछि युभेन्टसलाई एकपक्षीय रूपमा सो खेलको विजेता घोषणा गरिएको थियो ।

आज लाजियोको घरेलु मैदानमा उत्रिँदा युभेन्टसको टोलीमा क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, पाउलो डिबालासहितका खेलाडी उपलब्ध हुनेछन् । गत सिजन यी दुई टोलीबीच भएको सिजनको दोस्रो लेगमा युभेन्टसले २–१ ले जितेको थियो । सो खेलमा रोनाल्डो एक्लैले २ गोल गरेका थिए ।

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार ११:४८
Loading...