फेलिक्स चम्किँदा एथ्लेटिको मड्रिडको शानदार : उक्लियो शीर्ष स्थानमा

काठमाडौं, कात्तिक २३
पोर्चुगिज युवा स्टार जुआओ फेलिक्स चम्किँदा स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले फराकिलो जित निकालेको छ । गत राति आफ्नो घरेलु मैदानमा उसले यसै सिजन शीर्ष लिगमा बढुवा भएको क्याडिजमाथि ४–० को एकपक्षीय जित निकालेको हो ।

घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन फेलिक्सले २ गोल र १ असिस्ट प्रदान गरे । १ गोल लुइस स्वारेजले गरे भने मार्कोस लोरेन्टोले १ गोल गर्दै १ गोलमा असिस्ट मिलाए । यसै खेलको गोलबाट फेलिक्स र स्वारेज संयुक्त रूपमा ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा पनि उक्लिएका छन् ।

एथ्लेटिकोका लागि खेलको आठौं मिनेटमै फेलिक्सले पहिलो गोल गरेर घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । उनको गोलमा लोरेन्टोले पास मिलाएका थिए । गोलकिपरले पोस्ट छाडेका बेला लोरेन्टोले माथिल्लो भागमा दिएको हवाई पासमा फेलिक्सले उत्कृष्ट हेडिङ गोेल गरेका थिए ।

त्यसपछि खेलको २२औं मिनेटमा एथ्लेटिकोले दोस्रो गोल हान्यो । यसपटक लोेरेन्टोले बक्सभित्रबाट क्याडिजका डिफेन्डरलाई छलाउँदै लो सटमा उत्कृष्ट गोल गरेका थिए । एथ्लेटिकोले बाँकी २ गोल दोस्रो हाफमा हान्यो ।

खेलको ५१औं मिनेटमा स्वारेजले फेलिक्सको उत्कृष्ट पासमा बक्सभित्रबाट सजिलै गोल गरेर अग्रता बढाएका थिए । सो गोलाई भिएआरले मान्यता दिएको थियो । स्वारेजको गोलपछि खेलको ९०औं मिनेटमा फेलिक्सले एन्जल कोरेरियाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल एथ्लेटिकोले ४–० ले जित्यो । दोस्रोपटक फेलिक्सले उत्कृष्ट कला देखाउँदै शानदार गोल गरेका थिए ।

अब यो जितपछि एथ्लेटिको एथ्लेटिको अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । उसले ७ खेलबाट १७ अंक जोडेको छ । समान १७ नै अंक भएको रियल सोसिडाड दोस्रो स्थानमा छ । एक खेल कम खेलेर १६ अंक भएको रियल मड्रिड तेस्रो स्थानमा छ । रियलले आफ्नो खेल आज राति खेल्दै । पराजित क्याडिज १४ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार ०८:१९
Loading...