बार्यनले डर्टमुन्डलाई उसकै घरेलु मैदानमा हरायो : साने नायक

काठमाडौं, कात्तिक २३
जर्मन लिग बुन्डेसलिगा फुटबलमा सिजनको पहिलो खेलमा साबिक विजेता बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । गत राति भएको खेलमा बार्यनले डर्टमुन्डलाई उसकै घरेलु मैदानमा २–३ गोलले निराश बनायो । अवे मैदानमा बार्यनलाई जिताउन जर्मन खेलाडी लिरोए सानेले निर्णायक गोल गरे ।

आफ्नो घरेलु मैदानमा डर्टमुन्डले पहिला खेलमा अग्रता लिएको थियो । खेलको ४५औं मिनेटमा कप्तान मार्को रिउसले राफाएल गुरेरियोको उत्कृष्ट पासमा उनले वान टचमै आकर्षक गोल गरेका थिए । तर, घरेलु टोलीको अग्रता धेरैबेर टिक्न सकेन ।

पाहुना टोली बार्यनले पहिलो हाफको इन्जुरी समयमा उत्कृष्ट फ्रि किक गोल हान्यो । बक्स नजिकैबाट रोवर्ट लेवान्डोस्की, थोमस मुलर र डेभिड अल्बाले चलाखीपूर्वक सो फ्रि किक आक्रमण सेट गरेका थिए । फ्रि किक प्रहार गर्ने बेलामा लेवान्डोस्कीले विपक्षीलाई झुक्काए भने मुलरले नजिकै रहेका अल्बालाई छुस्स पास दिएकोमा अल्बाले उत्कृष्ट ढंगले बललाई जाली चुमाएका थिए ।

त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ बार्यनका लागि लेवान्डोस्कीले हेडिङमार्फत् उत्कृष्ट गोल गरेर टिमलाई १–२ को अग्रता दिलाए । सो गोलमा लुकास हर्नान्डेजले पास दिएका थिए । त्यसपछि खेलको ८०औं मिनेटमा बार्यनका लागि लिरोए सानेले लेवान्डोस्कीको पासमा गोल गर्दै टिमलाई १–३ को स्थितिबाट सहज जिततर्फ अघि बढाएका थिए ।

त्यसपछि पनि डर्टमुन्डले खेलमा फर्किन संकेत देखाएको थियो । ८३औं मिनेटमा घरेलु टोलीका लागि युवा स्टार अर्लिङ हल्यान्डले उत्कृष्ट गोल गरेपछि खेललाई २–३ मा छोट्याएका थिए । तर, बाँकी समयमा डर्टमुन्डले दोस्रो गोल निकाल्न नसक्दा खेल बार्यनले २–३ ले जित्यो ।

अब यो जितपछि बार्यन ७ खेलपछि १८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । उसले डर्टमुन्डलाई पछि पार्दै शीर्ष स्थान लिएको हो । पराजित डर्टमुन्ड समान खेलबाट मात्रै १५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार ०७:५७
Loading...