एभर्टनको ह्याट्रिक हार : काभानीले खाता खेल्दा युनाइटेडको प्रभावशाली जित

काठमाडौं, कात्तिक २२
इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ सिजन सुरु भएपछि सुरुका ४ वटै खेल जितेर शानदार यात्रा थालेको एभर्टनले आठौं खेलमा पुग्दा ह्याट्रिक हारबाट पीडित बनेको छ । आज शनिबार उसलाई लिगको १५औं स्थानको म्यानचेस्टर युनाइटेडले आफ्नै घरेलु मैदानमा १–३ गोलअन्तरले स्तब्ध बनायो । यससँगै कार्लेस एन्सेलोट्टीको कमान्डमा रहेको एभर्टनले पछिल्ला ३ लिग खेलमा लगातार हार व्यहोरेको छ ।

नयाँ सिजनको खराब सुरुआत गरेको युनाइटेड एभर्टनविरुद्ध जितको चर्को दबाब लिएर उत्रिएको थियो । उसको दबाबपूर्ण यात्रामा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेज नायक बने । उनले टोलीका ३ गोलमध्ये २ गोल आफैंले गरे भने बाँकी १ गोलमा असिस्टसमेत प्रदान गरे । यसै खेलबाट नयाँ खेलाडी उरुग्वेन फरवार्ड इडिन्स काभानीले पनि गोलको खाता खोल्न सफल भए ।

आफ्नो घरमा एभर्टनले पहिला खेलमा अग्रता लिएको थियो । खेलको १९औं मिनेटमा बर्नान्डले सहजै गोल गरेर युनाइटेडलाई पछि पारेका थिए । तर, त्यसपछि पाहुना टोली युनाइटेडले उत्कृष्ट कमब्याक सफल बनायो ।

खेलको २५औं मिनेटमा फर्नान्डेजले लुके शको पासमा निकै सुन्दर गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ३२औं मिनेटमा फर्नान्डेजले नै अर्को गोल थपे । मैदानको दायाँ भागबाट उनले हानेको हलुका उचाइको बल पोलमा लागेर पोस्टमा छिरेको थियो । फर्नान्डेजको बललाई मार्कुस रासफोर्डले प्रहार गर्न खोजे पनि बलले उनलाई नछोई पोलमा लागेर एभर्टनका गोलकिपरलाई छलाउँदै पोस्टको दिशा लिएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा नयाँ खेलाडी काभानीले उत्कृष्ट गोल गरेर टिमलाई १–३ को जित पक्का गरे । उनको गोलमा फर्नान्डेजले नै असिस्ट प्रदान गरेका थिए । काभानी ८२औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेका थिए । नयाँ क्बल युनाइटेडमा काभानीका लागि यो पहिलो गोल थियो ।

अब यो जितपछि युनाइटेड ७ खेलपछि १० अंक बनाएर १५औं स्थानबाट १३औं स्थानमा चढेको छ । पराजित एभर्टन ८ खेलपछि १३ अंकसहित पाँचौं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार २०:३२
Loading...