रियललाई समस्या : हाजार्ड र कासेमिरोलाई कोरोना संक्रमण

एजेन्सी, कात्तिक २२
स्पेनिस क्लब रियल मड्रिडलाई ठूलो झट्का लागेको छ । उसका २ जना प्रमुख खेलाडी इडेन हाजार्ड र कासेमिरोलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आज रियलले अफिसियल रूपमा जानकारी दिँदै आफ्नो सिनियर टोलीका २ जना खेलाडीमा कोरोना देखिएको पुष्टि गरेको हो । अन्य खेलाडीमा भने संक्रमण देखिएको छैन ।

यससँगै हाजार्ड र कासेमिरो कम्तीमा दुई साता आइसोलेसनमा रहनेछन् । त्यसपछि कोरोना जाँचमा रिपोर्ट नेगेटिभ आए मात्रै प्रशिक्षणमा फर्किएर खेल्न पाउनेछन् । यसको अर्थ यी दुवै खेलाडीले रियल मड्रिडको आगामी एक लिग खेल र त्यसपछि हुने अन्तर्राष्ट्रिय ब्रेकमा हाजार्डले ३ तथा कासेमिरोले २ खेल गुमाउनेछन् ।

रियलले ला लिगामा आइतबार राति लिगको आठौं खेलमा अवे मैदानमा भ्यालेन्सियासँग खेल्दै छ । यो खेलमा हाजार्ड र कासेमिरो दुवै हुनेछैनन् । त्यसैगरी, हाजार्डले बेल्जियमको टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा नोभेम्बर ११ तारिखमा स्वीट्जरल्यान्डविरुद्ध हुने मैत्रीपूर्णसहित नोभेबर १५ मा युइएफए नेसन्स लिगमा हुने इंग्ल्यान्ड र त्यसपछि डेनमार्कविरुद्ध नोभेम्बर १८ मा हुने खेल पनि गुमाउनेछन् ।

यता, कासेमिरोले ब्राजिलको टोलीमा दुई खेल गुमाउनेछन् । कासेमिरोले ब्राजिलको टोलीबाट सन् २०२२ मा हुने विश्वकप छनौटअन्तर्गत नोभेम्बर १४ तारिखमा भेनेज्वेला र नोभेम्बर १८ तारिखमा उरुग्वेविरुद्ध खेल्ने दुवै खेल गुमाउनेछन् ।

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार १७:२७
Loading...