चर्को दबाबमा मेस्सी : बेटिसविरुद्धको खेलमा ‘लय’को खोजी

काठमाडौं, कात्तिक २२
स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी यो सिजन खराब स्थितिबाट गुज्रिरहेका छन् । क्लब र अर्जेन्टिनी टोलीमा पनि यो सिजन उनको प्रदर्शन तथा तथ्यांक दुवै ओरालो लागेको छ । लगातार लयविहीन रहेका मेस्सीको प्रदर्शनलाई लिएर आलोचनासमेत हुन थालिसकेको छ ।

मेस्सीले यो सिजन बार्सिलोनामा घरेलु लिग ला लिगा र च्याम्पियन्स लिग गरी कूल ९ खेल खेलेका छन् । यी ९ खेल खेलिसक्दा मेस्सीले जम्मा ४ गोल मात्रै गरेका छन्, त्यो पनि सबै गोल पेनाल्टीमार्फत् । ९ खेलबाट ८ सय ५५ मिनेट खेलिसक्दा मेस्सीले १ गोल पनि ओपन एरियाबाट गर्न सकेका छैनन् ।

नयाँ सिजन सुरु हुनुअघि क्लब छाड्ने निर्णय गरेर पछि बाध्य बनेपछि बार्सिलोनामै रहेका मेस्सीको ओरालो लागेको प्रदर्शनलाई उनको उदासीनता र निराशासँग पनि जोडेर विश्लेषण गर्न थालिएको छ । मेस्सीले यतिबेला बार्सिलोनामा पर्याप्त मेहनत नगरेको र सधैंजस्तो मजबुत मनोबलमा उनी नरहेको चर्चा हुन थालेको छ ।

यता, अर्जेन्टिनी टोलीमा पनि मेस्सीको अवस्था गतिलो छैन । केही समयअघि विश्वकप छनौटमा अर्जेन्टिनी टोलीमा सहभागी हुँदा मेस्सीले २ खेलबाट १ गोल गरेका थिए, त्यो पनि पेनाल्टीबाटै । यसरी मेस्सीले यो सिजन क्लब र अर्जेन्टिनी दुवै टोलीबाट कूल ११ खेल खेलिसक्दा मात्रै ४ गोल गरेका छन्, सबै पेनाल्टी गोल । समयका हिसाबले उनले १ हजार ४५ मिनेटको लामो समय १ पनि ‘ओपन गोल’बिनै बिताइसकेका छन् । मेस्सीजस्ता गोल मेसिन र प्ले मेकर खेलाडीका लागि यो तथ्यांक ज्यादै खराब हो ।

यो स्थितिबाट गुज्रिरहेका मेस्सीले आज राति लिगको सातौं खेल घरेलु मैदानमा रियल बेटिसविरुद्ध खेल्दैछन् । मेस्सी मात्रै नभएर टिमको हालत ला लिगामा झनै खराब रहेका बेला आज क्याम्प नोउमा उत्रिँदा मेस्सीमाथि चर्को दबाब हुनेछ । उनी आजको खेलबाट आफ्नो लयमा फर्किन प्रयास गर्नेछन् । साथै, अंक तालिकामा हाल १२औं स्थानमा रहेको बार्सिलोनालाई राम्रो नतिजासहित जितको बाटोमा फर्काउने दबाब आज मेस्सीमाथि ज्यादा हुनेछ ।

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार १४:२५
Loading...