बार्सासँग भिड्नुअघि बेटिसका खेलाडीद्वारा कोम्यानप्रति ‘अपमानजनक’ टिप्पणी

एजेन्सी, कात्तिक २२
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति बार्सिलोना र रियल बेटिसको खेल हुँदैछ । सो खेलका लागि बार्सिलोनाले बेटिसलाई आफ्नो घरेलु रंगशाला क्याम्प नोउमा स्वागत गर्दैछ । सो खेलमाथि थुप्रैको नजर छ । किनभने, बार्सिलोना खराब स्थितिमा रहेका बेला बेटिसको सामना गर्दैछ । क्याटलान टोलीले पछिल्ला ३ खेलमा कुनै खेल जित्न सकेको छैन ।

सो खेलअघि बेटिसका भेट्रान फरवार्ड जोवाक्विनले बार्सिलोनाका डच म्यानेजर रोनाल्डो कोम्यानप्रति खराब टिप्पणी गरेका छन् । एक स्पेनिस मिडियासँग कुरा गर्दै ३९ वर्षीय स्पेनिस खेलाडीले कोम्यानप्रति अपमाजनक टिप्पणी गरेका हुन् । बार्सिलोनाविरुद्ध खेलको २ दिनअघि उनले अन्तर्वार्ता दिँदै ‘कोम्यानलाई आफूले कुनै टोलीको प्रशिक्षक त के, किटम्यानको जागिर पनि नदिने’ भन्दै गाली दिएका छन् । ‘किटम्यान’ खेलाडीका लागि आवश्यक सामाग्री बन्दोबस्ती गर्ने वा खेल दौरान जर्सी–कपडा ठीकठाक राख्ने–मिलाउने व्यक्ति हुन् ।

स्मरण रहोस्, जोआक्विनले कोम्यानको प्रशिक्षणमा यसअघि खेलिसकेका छन् । सिजन २००७–०८ मा कोम्यान एक सिजनका लागि भ्यालेन्सियाको प्रशिक्षक हुँदा जोआक्विन सोही क्लबका खोलडी थिए । त्यहाँ रहँदारहँदै यी दुईजना बीच सम्बन्ध बिग्रिएको थियो । र, त्यो सम्बन्ध कहिल्यै सुध्रिएन ।

शनिबार बार्सिलोनाविरुद्ध खेल्नुअघि ओआक्विनले कोम्यानप्रति कटाक्षेप मात्रै गरेनन्, बार्सिलोनालाई हराउने चेतावनी पनि दिए । खास गरी उनले कोम्यानप्रति कडा वचनवाण प्रहार गरे । ‘त्यो समय मेरो करिअरको सबैभन्दा खराब समय थियो । त्यहाँ के भएको थियो भनेर म सम्झिन चाहन्नँ । नढाँटी भन्दा त्यसबेला उनले (कोम्यान) ले मलाई दुखाए, मप्रति ज्यादै अपमानजनक व्यहावर देखाए,’ जोआविक्नले भनेका छन् ।

उनै कोम्यान अहिले विश्वकै एक ठूलो क्लब बार्सिलोनाको प्रमुख प्रशिक्षक पदमा नियुक्त भएको विषयमा पत्रकारले प्रश्न गर्दा जोआक्विन उनीमाथि झनै खनिए । ‘उनी बार्सिलोनाको प्रशिक्षक छन् ? मलाई थाहा छैन । म भएको भए उनलाई किटम्यानको जागिरका लागि पनि राख्दैनथिएँ,’ जोआक्विनले भने, ‘उनी खेलाडीको सम्मान गर्न जान्दैनन्, कहिल्यै पनि । उनी अहिले जे गरिरहेका छन्, उनले त्यो पदको अपमान गरिरहेका छन् ।’

जोआविक्नले कोम्यानको बार्सिलोनालाई हराउन अहिलेजति उचित समय कहिल्यै नआउने पनि बताए । ‘मेरो विचारमा बार्सिलोनाविरुद्ध खेल्न र हराउन हाम्रा लागि योभन्दा उचित समय फेरि कहिल्यै आउनेछैन,’ उनले थपे ।

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार १३:४५
Loading...