बुन्डेसलिगामा आज डर्टमुन्ड र बार्यनको ‘महाभिडन्त’ हुँदै

काठमाडौं, कात्तिक २२
जर्मन लिग बुन्डेसलिगा फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ, जहाँ लिगका सबैभन्दा दुई ठूला टोलीहरू बोरुसिया डर्टमुन्ड र बार्यन म्युनिख भिड्दैछन् । यी दुई टोली सिजनको पहिलो खेल खेल्न आज राति आमनेसामने हुन लागेका हुन् । खेल नेपाली समयअनुसार राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ ।

बुन्डेसलिगमा सधैं उपाधि होडमा बार्यनलाई टक्कर दिने डर्टमुन्डले बार्यनलाई आज राति आफ्नो घेलु मैदानमा स्वागत गर्नेछ । हाल अंक तालिकामा यी दुई टोली समान १५–१५ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् । आजको खेलपछि विजेता टोली लिग लिडर बन्नेछ ।

यसअघि दुवै टिमले सुरुआती ६–६ खेल खेलिसकेका छन् । हाल शीर्ष स्थानमा रहेको बार्यनले ६ मध्ये ५ खेल जितेको छ भने १ खेल हारेको छ । डर्टमुन्डले पनि ६ मध्ये ५ खेल जितेर १ खेल हारेको छ ।

यस सिजन लिगमा उस्तै सुरुआत गरेका र उस्तै गतिमा रहेकाले आज रातिको यो खेल हेर्न निकै रोमाञ्चक हुने पक्का छ । यस खेलका लागि दुवै टोलीले आफ्नो पहिलो रोजाइका खेलाडी उतार्नेछन् । डर्टमुन्डका जाडोन सान्चो, अर्लिङ हल्यान्ड, मार्को रिउससहितका खेलाडी टोलीमा हुनेछन् भने बार्यनमा रोवर्ट लेवान्डोस्की, थोमस मुलर, लिरोए सानेसहितका खेलाडी हुनेछन् ।

बार्यन र डर्टमुन्ड दुवैले लिगको दोस्रो खेलमै हार व्यहोरेका थिए । त्यसपछि दुवै टिमले आ–आफ्नो ४ खेल जितेका छन् । लिगको पहिलो खेल दुवै टिमले जितेर त्यसपछि दोस्रो खेल दुवै टिमले एकै चरणमा हारेर त्यसपछि दुवै टिम लगातार जित्दै आएका हुन् । तसर्थ, ठीक यतिबेला दुवै टिम उत्कृष्ट लयमा रहेकाले आज एकअर्कालाई दोस्रो हार चखाउने दाउमा उनीहरू हुनेछन् ।

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार १२:४५
Loading...