जनवरी विन्डोमा बार्सिलोनाले बेच्ने प्राथमिकतामा ५ खेलाडी

एजेन्सी, कात्तिक २४
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आगामी जनवरी विन्डोमा आफ्ना ५ जना खेलाडी बेच्ने तयारी गरेको छ । स्पेनिस मिडियाका अनुसार नयाँ खेलाडी अनुबन्ध तथा अर्थ संकलनका लागि क्लबले ५ जना खेलाडीलाई प्राथमिकतासाथ बेच्ने तयारी गरेको हो ।

प्रशिक्षक रोनाल्ड कोम्यानको योजनाअनुसार क्लबले यी खेलाडीको बिदा गर्न लागेको हो । बार्सिलोनाले बेच्ने खेलाडीको सूचीमा फ्रेन्च विंगर उसामान डेम्बेले पहिलो प्राथमिकतामा छन् । डच म्यानेजर कोम्यानले आगामी समर सिजनमा फ्रेन्च क्लब लियोनका डच खेलाडी मेम्फिस डिपे र इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस इरिक गार्सिया भित्र्याउन चाहेका छन् ।

यी खेलाडी अनुबन्धका लागि बार्सिलोनाले रकम भेला पार्न एक प्रमुख खेलाडीसहित ५ जना खेलाडी बेच्ने तयारी गरेको हो । जसमा डेम्बेलेसहित डिफेन्डरद्वर जुनियर फिर्पो, सामुएल उम्टिटी, मिडफिल्डर कार्लेस एलिना र फरवार्ड मार्टिन ब्रेथवेट रहेका छन् ।

डेम्बेलेलाई बार्सिलोनाले सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा भित्र्याएको थियो । तर, लगातार चोटसँग जुध्दै आएका डेम्बेलेको स्थिर प्रदर्शन नरहेकाले बार्सिलोना उनलाई बिदा गर्ने स्थितिमा पुगेको हो ।

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार १२:०३
Loading...