प्रिमियर लिगमा आज एभर्टन र युनाइटेडको रोमाञ्चक खेल हुँदै

काठमाडौं, कात्तिक २२
इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति एक रोमाञ्चक खेल हुँदैछ, जहाँ एभर्टन र म्यानचेस्टर युनाइटेड सिजनको पहिलो लेगको खेल खेल्न आमनेसामने हुँदैछन् । यो खेलका लागि कार्लेस एन्सेलोट्टीको टोली एभर्टनले ओले गुनरको टोली युनाइटेडलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा एभर्टन ७ खेलपछि १३ अंक बनाएर पाँचौं स्थानमा छ । अघिल्लो सातासम्म शीर्ष स्थानमा रहेको एभर्टन लगातार दुई हारपछि अंक तालिकामा पछि परेको हो । उसले यो सिजन खेलेका ७ खेलमध्ये ४ खेल जितेर १ खेल बराबरी गर्दा २ खेल हारेको छ । सुरुआती ४ खेलमा सबै खेल जितेको एभर्टन पछिल्ला ३ खेलमा लगातार जितविहीन अवस्थामा छ ।

यता, आज युनाइटेडले यो सिजन खराब सुरुआत गरेको छ । ६ खेल सकिँदा युनाइटेड मात्रै ७ अंक बनाएर १५औं स्थानमा छ । उसले ६ खेलमा मात्रै २ खेल जितेर १ खेल बराबरी गर्दा ३ खेल हारेको छ । आज एभर्टनको घरमा उत्रिँदा युनाइटेड चर्को दबाबा हुनेछ । खराब अवस्थाबाट सुधारको बाटोमा निस्किन पनि उसलाई आजको जित आवश्यक छ ।

यता, यो सिजनको सुरुआत उत्कृष्ट गरेको एभर्टन आज घरमा उत्रिँदा हारको ह्याट्रिकको जोखिममा हुनेछ । यदि आज घरेलु मैदानमा युनाइटेडलाई हराउन सके एभर्टन आजकै खेलबाट पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किनेछ ।

आजका खेल नेपाली समयमा

एभर्टन भर्सेस म्यानचेस्टर युनाइटेड – साँझ ६ः१५ बजे

क्रिस्टल प्यालेस भर्सेस लिड्स युनाइटेड – राति ८ः४५ बजे

चेल्सी भर्सेस सेफिल्ड युनाइटेड – राति ११ः१५ बजे

वेस्ट ह्याम भर्सेस फुलहाम – राति १ः४५ बजे

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार ०९:५७
Loading...