साउथह्यामपटन इतिहासमै पहिलोपटक प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं, कात्तिक २२
इंग्लिस क्लब साउथह्यामपटन क्लब इतिहासमै पहिलोपटक प्रिमियर लिग फुटबलको लिग लिडर बनेको छ । गत राति उसले लिगको आठौं खेलमा न्युक्यासलमाथि २–० जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यसअघि सो टिम कहिल्यै पनि लिग लिडर बनेको थिएन ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा साउथह्यामपटनलाई जिताउन २ जना खेलाडीले गोल गरे । पाहुना टोलीमाथि पकड जमाएर खेलेको घरेलु टोलीका लागि खेलको सातौं मिनेटमा चे अडाम्सले पहिलो गोल गरेका थिए । सोही गोलको अग्रता लिएर साउथह्यामपटन ८१औं मिनेटसम्म पुग्यो । त्यसपछि ८२औं मिनेटमा साउथह्यामपटनका लागि लागि स्टर्ट आर्मस्ट्रङले टिमका लागि दोस्रो गोल गरेपछि खेल साउथह्यामपटनले २–० ले जित्यो ।

साउथह्यामपटनको घरमा न्युक्यासलले तुलनात्मक रूपमा थोरै मात्रै अवसर बनायो । उसले खेलभरिमा जम्मा ४ पटक मुभ बनायो भने २ सट सही दिशामा हानेको थियो । त्यसैगरी, ३९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो । तर, घरेलु टोली साउथह्यामपटले खेलभरिमा १५ पटक आक्रमण बुन्दा ८ प्रहार सही दिशामा हानेको थियो ।

अब यो जितपछि साउथह्यामपटनले ८ खेलबाट १६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । उसले दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गरे पनि गोलअन्तरका आधारमा शीर्ष स्थानमा चढेको हो । लिभरपुलले एक खेल कम खेलेको छ । साउथह्यामपटनले ८ मध्ये ५ खेल जितेर १ खेल बराबरी गर्दा २ खेल हारेको छ । पराजित न्युक्यासल समान ८ खेलपछि ११ अंक बनाएर ११औं स्थानमा छ ।

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार ०८:०२
Loading...