डेस्टलाई ड्यानी आल्भेसको सुझाव– ‘जतिसक्दो धेरै मेस्सीलाई बल दिनू’

एजेन्सी, कात्तिक २१
स्पेनिस क्लब बार्सिलोनाका नयाँ खेलाडी युवा डिफेन्डर सेर्गिनो डेस्टलाई बार्सिलोनाका पूर्वखेलाडी ड्यानी आल्भेसले व्यक्तिगत रूपमा सुझाव दिएका छन् । ब्राजिलियन डिफेन्डर आल्भेसले केही सरल सुझाव भन्दै अमेरिकन युवा डिफेन्डरलाई बार्सिलोनामा कसरी खेल्ने भनेर सुझाव दिएका हुन् ।

आल्भेसले रमाइलो शैलीमा कुरा गर्दै सकेसम्म धेरै बल टोलीका कप्तान लिओनल मेस्सीलाई पास दिन डेस्टलाई सुझाव दिएका छन् । अस्ति भर्खर समर विन्डोमा डच क्लब आयाक्सबाट बार्सिलोनामा आएका २० वर्षीय डेस्टले बार्सिलोनामा उच्च प्रभाव पारिरहेका छन् । उनले ९ खेल खेल्दा सोझै गोलमा सहभागी नभए पनि रक्षापंक्तिमा प्रमुख हिस्सा बन्दै टोलीलाई सघाइरहेका छन् ।

यता, आल्भेस उनै खेलाडी हुन्, जसले आफ्नो बार्सिलोनाको सफल करिअरमा मेस्सीसँग निकै नजिक भएर खेलेका थिए । उनले बार्सिलोनामा मेस्सीलाई १०१ असिस्ट प्रदान गरेका थिए । बार्सिलोनाको इतिहासमा यदि कुनै एक खेलाडीले अर्को एक खेलाडीलाई सबैभन्दा धेरै असिस्ट दिएका छन् भने उनी आल्भेस नै हुन् । सोही कुरा सम्झिँदै आल्भेसले बार्सिलोनामा आफूले जस्तै शैली अपनाउन युवा डिफेन्डर डेस्टलाई सुझाव दिएका हुन् ।

‘यदि मैले डेस्टलाई सल्लाह दिनुपर्यो भने, एकदमै सरल छ– मेस्सीलाई जतिसक्दो धेरै बल दिनु, बाँकी काम मेस्सीले गर्छन्,’ आल्भेसले भनेका छन्, ‘किनभने, म पनि त्यसै गर्थें ।’

आल्भेसले बार्सिलोनामा डेस्ट राम्रो खेलाडीको रूपमा रहने विश्वास पनि लिए । तर, उनलाई अहिले नै कुनै खेलाडीसँग तुलना गर्नु गलत हुने बताए । ‘उनी युवा खेलाडी छन् । बार्सिलोनामा सफल हुन सक्ने क्षमता उनमा छ । तर, अहिले नै उनको तुलना कसैसँग गर्नुहुँदैन । कुनै बेला मेरो तुलना काफुसँग गरिन्थ्यो । यस्ता कुराले केही अर्थ राख्दैन । डेस्टेले आफ्नो खेलमा ध्यान दिनुपर्छ,’ आल्भेसले भने ।

आल्भेस सिजन २००८–०९ देखि सिजन २०१५–१६ सम्म बार्सिलोनामा खेलेका थिए । बार्सिलोनामा ८ वर्ष बिताउनेक्रममा उनले कूल कूल ३९१ खेल खेल्दै २१ गोल गरेका थिए ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार २१:३१
Loading...