‘बार्साका स्ट्राइकरलाई निराश बनाउने’ १८ वर्षीय ‘पर्खाल’ गोलकिपरका नाममा दुुर्लभ रेकर्ड !

एजेन्सी, कात्तिक २१
दुई दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेका युक्रेनको क्लब डाइनामो किभका युवा गोलकिपरले यस प्रतियोगितामा दुर्लभ रेकर्ड बनाएका छन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको सो खेल बार्सिलोनाले २–१ ले जितेको थियो । सो खेल बार्सिलोनाले जिते पनि बार्सिलोनाको चर्को आलोचना भयो । र, हारेको टिम किभका नयाँ–साना गोलकिपरको चौतर्फी भयो ।

आफ्नै घरमा बार्सिलोनालाई तुलनात्मक रूपमा निकै कमजोर टोलीविरुद्ध सो खेल जित्नै ठूलै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाका लागि कप्तान लिओनल मेस्सीले १ गोल पेनाल्टीमार्फत् गर्दा अर्को गोल जेरार्ड पिकेले हेडिङमार्फत् गरेका थिए । यता, किभका लागि अन्तिम समयतिर भिक्टोरले १ गोल गरेका थिए ।

युक्रेनको टोली बार्सिलोनाविरुद्ध उत्रिँदा विभिन्न हिसाबले समस्यामा थियो । एकहिसाबले ऊ ‘कोरोनापीडित’ थियो । कोरोना भाइरसको संक्रमणका कारण उसको सिनियर टोलीका ६ जना खेलाडी टोलीमै थिएनन् । त्यसैगरी, पहिलो रोजाइका गोलकिपर पनि टोलीमा थिएनन् । प्रमुख खेलाडीबिनाको किभको टोलीमा ६ जना टिम ‘बी’का खेलाडी डाकिएको थियो, त्यसमध्ये बार्सिलोनाविरुद्ध खेलेका गोलकिपर पनि एक थिए । बार्सिलोनाविरुद्ध उत्रिँदा किभका सिनियर टोलीमा १३ जना मात्रै खेलाडी उपलब्ध थिए ।

यस्तो अवस्थाको किभले तैपनि बार्सिलोनालाई खेलभरि नै संकटमा राख्न सफल भयो । उसले विश्वकै एक उत्कृष्ट सजिलै जित्न दिएन । लियोनल मेस्सीजस्ता विश्वकै एक उत्कृष्ट खेलाडीको टोलीविरुद्ध किभले साँच्चै उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले बार्सिलोनाविरुद्ध आधा दर्जन गोलका अवसर बनाएको थियो । तर, राम्रा फिनिसिर र आक्रमण लाइनमा अनुभवी खेलाडीको अभावमा उसले बनाएका थुप्रै अवसरमा गोल गर्न सकेन । बार्सिलोनालाई खेलमा पटक–पटक भाग्यले साथ दिँदा कम्तीमा ३–४ गोल खानबाट बचेको थियो ।

सो खेलपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले त आफ्ना खेलाडीको आलोचना र किभका खेलाडीको खुलेर तारिफ नै गरे । उनले खेल बार्सिलोनाले जिते पनि मन भने किभले जितेको पत्रकार सम्मेलनमै बताएका थिए । बार्सिलोनाविरुद्ध किभले यो स्तरको प्रदर्शन गर्नुको पछाडि किभको टोलीमा प्रमुख नायक थिए– १८ वर्षका गोलकिपर रुस्लान निस्चिरियट ।

युक्रेनका युवा गोलकिपर रुस्लानले बार्सिलोनाविरुद्ध साँच्चै शानदार प्रदर्शन गरेका थिए । उनले बार्सिलोनाको धारिलो आक्रमणपंक्तिलाई खेलभरि नै निस्तेज पारे । उनले मेस्सीको १ पेनाल्टीसहित २ गोल खाए तर त्यसका बाबजुद उनको प्रदर्शन भने विश्वस्तरका उत्कृष्ट गोलकिपरको भन्दा कमी थिएन ।

क्याम्प नोउमा बार्सिलोनाले किभविरुद्ध कूल २२ पटक आक्रमण बुनेको थियो, जसमा १४ प्रहार त अन टार्गेट हानेको थियो । यी १४ प्रहारमध्ये १८ वर्षका गोलकिर रुस्लानले १२ प्रहार रोकेर बार्सिलोनाका मेस्सीसीतका खेलाडीलाई पटक–पटक निराश बनाइदिए । सो खेलमा पेनाल्टीबाहेक गोल गर्न नसकेकै कारण अहिले मेस्सी आलोचना खेपिरहेका छन् ।

यतिसम्म कि, सो खेलअघि बार्सिलोनाका समर्थकले त बार्सिलोनाले किभविरुद्ध कम्तीमा ७–८ गोलसम्म गर्न सक्ने भविष्यवाणी नै गरेका थिए । तर, बार्सिलोनालाई भने आफ्नै घरमा २–१ ले खेल जित्न पनि फलामको चिउरा चपाउनुसरह बन्यो । अनि, बार्सिलोनालाई खेल जित्न पेनाल्टी गोल आवश्यक परेको थियो ।

बार्सिलोनाविरुद्ध रुस्लानले कूल १२ प्रहार बचाउ गर्दा कप्तान मेस्सीका मात्रै ६ प्रहार विफल पारिदिएका थिए । त्यसैगरी, युवा स्टा अन्सु फातीका २ खतरनाक प्रहारमा रुस्लानले पहाड बनेर छेकेपछि उनका सामु बार्सिलोनाका फरवार्डको केही सीप चलेन । रुस्लानले उसामान डेम्बेलेका दुई प्रहार पनि रोकेका थिए ।

सिनियर टोलीमा अनुभवै नभएका रुस्लानले ठूला प्रतियोगितामा बार्सिलोनाजस्ता ठूला टोलीविरुद्ध जुन स्तरको प्रदर्शन गरे, त्यो प्रशंसनी छ नै । उनको प्रदर्शनको अहिले चौतर्फी तारिफ भइरहेको छ । फुटबलको सर्वोच्च संस्था फिफादेखि युइएफएले पनि रुस्लानको बार्सिलोनाविरुद्धको प्रदर्शनको तारिफ गरेका छन् ।

बार्सिलोनाविरुद्ध खेल्दा १८ वर्षका रुस्लानका लागि सिनियर टोलीका लागि जम्मा दोस्रो खेल मात्रै थियो । उनले गत वर्ष २०१९ मा एकपटक लिग खेलमा सिनियर टोलीबाट एक खेल खेलेका थिए । त्यसयता उनले सिनियर टोलीमा खेलेकै थिएनन्, च्याम्पियन्स लिग खेल्नु त परकै कुरा । अझ बार्सिलोनाजस्तो ठूला क्लबविरुद्ध उनको कुनै अनुभव नै थिएन ।

तैपनि, रुस्लानले बार्सिलोनाविरुद्ध कति पनि नडगमगाई खेले । मैदानमा खेलिरहँदा उनमा कति पनि निराशा र दबाब देखिँदैन थियो । बार्सिलोनाविरुद्ध खेल्दा उनको मनोविज्ञान र आत्मविश्वास देख्दा लाग्थ्यो, उनी वर्षैंदेखि ठूला प्रतियोगितामा ठूला टोलीहरूविरुद्ध खेल्दै आएका छन् । उनको प्रदर्शनले उनलाई मात्रै १८ वर्षा हुन् र करिअरमा दोस्रोपटक सिनियर टोलीमा खेलिरहेका छन् भनेर पत्याउन जो केहीलाई कठिन पर्थ्यो ।

सो खेलमा रुस्लानले बार्सिलोनाका मेस्सीको एक खतरनाक फ्रि किकलाई अविश्वसनीय तरिकाले बचाएका थिए । मेस्सीले पोस्टको कुना च्यापेर हानेको सटमा रुस्लानले उति नै शानदार ढंगले हावामा उडेर बचाउ गरेका थिए । अघिल्लो वर्ष मेस्सीले इंग्लिस क्लब लिभरपुलविरुद्ध खेल्दा एलिसन बेकरविरुद्ध फ्रि किकमा खतरनाक गोल गरेका थिए । मेस्सीले किभविरुद्ध हानेको फ्रि किकलाई लिभरपुलविरुद्ध हानेकै फ्रि किकसँग तुलना धेरैले गरे । मेस्सीको सो फ्रि किक रोकेपछि उनको क्षमताको झनै चर्चा बढेको छ । त्यसैगरी, उसामान डेम्बेलेको एक लङ रेन्जको शक्तिशाली प्रहारमा उनले उस्तै उत्कृष्ट बचाउ गरेका थिए ।

रुस्लान किभको एकेडेमीबाट हुर्किएका खेलाडी हुन् । उनले युवा टोलीबाट युइएफए युथ लिगमा यो सिजन कूल ७ खेल खेलेका छन् । त्यसक्रममा उनले ५ खेलमा क्लिन सिट राखेका छन् । उनले गोल खाएका २ दुवै खेलमा पेनाल्टी गोल मात्रै खाएका छन् ।

रुस्लान अहिले युक्रेनको यु–२१ टोलीमा पहिलो रोजाइका गोलकिपर हुन् । गत वर्ष २०१९ मा उनले आफ्नो टिमका लागि २ खेल खेलेका थिए । त्यसअघि उनी विभिन्न उमेर समूह हुँदै अघि बढेका थिए ।

च्याम्यिन्स लिगमा बन्यो रेकर्ड

बार्सिलोनाविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेका रुस्लानले च्याम्पियन्स लिगको डेब्यु खेलमै एकसाथ दुर्लभ रेकर्ड बनाएका छन् । १८ वर्षका रुस्लान अब यस प्रतियोगितामा कुनै पनि सिंगल सिजनमा एकै खेलमा सबैभन्दा धेरै सफल बचाउ गर्ने तेस्रो गोलकिपर बनेका छन् । युइएफएले पनि रुस्लानको यो कीर्तिमानबारे आफ्नो अफिसियल वेबसाइटमा लेख्दै रुस्लानको प्रशंसा गर्दै उनलाई भविष्यका स्टार गोलकिपरका रूपमा चर्चा गरेको छ ।

त्यसैगरी, बार्सिलोनाविरुद्धको खेलपछि रुस्लान यस प्रतियोगितामा एकै खेलमा सबैभन्दा धेरै प्रहार रोक्ने सबैभन्दा कान्छा गोलकिपर पनि बनेका छन् । युरोपको शीर्ष प्रतियोगितामा यसअघि १८ वर्षको उमेरकै कुनै पनि गोलकिपरले एकै खेलमा १२ बचाउ गरेका थिएनन् ।

यसअघि च्याम्पियन्स लिगमा एकै खेलमा सबैभन्दा धेरै सुरक्षित बचाउ गर्ने रेकर्ड २ जनाका नाममा थियो । अब सो रकेर्डमा १८ वर्षका विल्कुलै नयाँ गोलकिपर पनि थपिएका छन् ।

रुस्लानमाथि युरोपका ठूला क्लबको आँखा

बार्सिलोनाविरुद्ध गरेको सनसनीपूर्ण प्रदर्शनले किभका १८ वर्षीय गोलकिपरमाथि युरोपमा ठूला–ठूला क्लबहरूले आँखा लगाउन थालिसकेका छन् । आगामी सरुवा बजार खुल्दा उनलाई भित्र्याउन थुप्रै क्लब दौडमा निस्कने पक्का छ । बार्सिलोना स्वयंले पनि रुस्लानलाई आफ्ना प्रमुख गोलकिपर मार्क आन्द्रे टर स्टेगेनको उत्तराधिकारीका रूपमा भित्र्याउन सक्ने चर्चा सुरु भइसकेको छ ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार १९:२२
Loading...