‘म्यानचेस्टर सिटीलाई मेस्सी आवश्यक छैन, उनी आए समस्या बढ्छ’

एजेन्सी, कात्तिक २१
स्पेनिस फुटबल क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीको स्पेनमा भविष्य अनिश्चित छ । नयाँ सिजनअघि नै क्लब छाड्ने निर्णय गरेका उनी बार्सिलोनाले फ्रि ट्रान्सफरमा जान नदिएपछि बाध्य भएर बार्सिलोनामा रहे । उनलाई लैजान चाहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले मेस्सीका लागि ‘सरुवा फी’बापत ७०० मिलियन युरो तिर्न नसक्ने भएपछि २० वर्षपछि बार्सिलोना छाड्ने मेस्सीको चाहना सफल भएन ।

अहिले मेस्सी बार्सिलोनामा खराब समयसँग जुधिरहेका छन् । उनको व्यक्तिगत प्रदर्शन आलोचनाको घेरामा छ । अर्कातर्फ, उनले आगामी जनवरी विन्डो नत्र सिजन सकिएपछि क्लब छाड्ने सम्भावना थप बढेको विश्लेषण गरिँदैछ । अहिले पनि उनको भविष्यलाई लिएर बजारमा अनेक टिकाटिप्पणी हुन थालेका छन् ।

मेस्सी बार्सिलोना छाडेर वास्तवमै कहाँ जान चाहन्छन् ? यो कुरा उनले आजसम्म बताएका छैनन् । तर, बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग पुनः काम गर्न मेस्सी सिटी जान सक्ने धेरैको बुझाइ छ । सिटीले पनि मेस्सी भित्र्याउन सन् २०१६ बाटै चाहेको छ । विभिन्न कारणले गर्दा मेस्सीका लागि बार्सिलोनापछिको क्लब युरोपमा सिटी नै बन्ने सम्भावना देखिन्छ ।

के ३४ वर्षका मेस्सीका लागि सिटी सबैभन्दा उत्तम विकल्प हो ? अथवा, सिटीलाई मेस्सी साँच्चै आवश्यक छ त ? मेस्सी अनुबन्धपछि उनको तलब र सुविधाका लागि पैसाको खोलो बगाउँदा सिटीले आजसम्म पाउन नसकेका सफलता पाउला त ? यी प्रश्न मेस्सीको सिटी अनुबन्ध वरिपरि उठिरहेका छन् ।

यसैक्रममा, सिटीका एक पूर्वखेलाडी (स्ट्राइकर) एमेल एम्पेन्जाका अनुसार सिटीलाई मेस्सीको कुनै आवश्यकता छैन । र, सिटीले मेस्सी अनुबन्ध गर्नु राम्रो हुनेछैन । एक अन्तर्वार्तामा कुरा गर्दै उनले मेस्सी र ग्वार्डीओलाको भेट बार्सिलोनामै आफूले सम्भव देखेको तर सिटीमा त्यो उचित नहुने बताएका छन् ।

‘साँच्चै भन्दा सिटीलाई मेस्सीको कुनै आवश्यकता छैन । त्यहाँ नयाँ फरवार्ड चाहिएकै छैन । किनभने, सिटी बार्सिलोनामा जस्तो एक खेलाडी केन्द्रित रणनीति र योजनाबाट खेल्ने टिम होइन । प्रिमियर लिगमा खेल्ने शैली नै अलग छ । मेस्सी आएपछि खेलको सम्पूर्ण शैली र ढाँचा नै परिवर्तन हुन सक्छ, सिटीले आफ्नो शैली गुमाउन सक्छ,’ उनले भने, ‘मैले त कोम्पनीले क्लब छाडेपछि त्यहाँ उनीजस्तै एक प्रभावशाली डिफेन्डरको आवश्यकता देखेको छु ।’

एम्पेन्जाले सिटीका प्रशिक्षक ग्वार्डिओलालाई स्ट्राइकर भन्दा पनि रक्षापंक्ति बलियो बनाउन सुझाव दिए । ‘मेरो विचारमा पेपले ३४ वर्षका कोही फरवार्डका लागि ठूलो लगानी गर्नुभन्दा भरपर्दा डिफेन्डरको खोजी गर्नुपर्छ, यदि उनी सिटीमा राम्रो चाहन्छन् भने । मलाई लाग्दैन कि, सिटीले मेस्सीले बार्सिलोनामा पाइरहेको साइजमा सुविधा दिएर भित्र्याउने जोखिम मोल्छ ।’

एम्पेन्जाले त सिटीमा फ्रन्ट लाइनमा अहिले नै उत्कृष्ट र युवा खेलाडीहरू रहेकाले मेस्सी भित्र्याउँदा टोलीमा समस्या पैदा हुने बताए । ‘त्यहाँ मेस्सीको पोजिसनमा खेल्ने प्रशस्तै प्रतिभावान् युवा खेलाडी छन् । यदि मेस्सी आए त्यहाँ समस्या पैदा हुन्छ । त्यो बेला टोलीलाई मात्रै असर पर्दैन, मेस्सी समेत समस्यामा पर्न सक्छन्,’ एम्पेन्जेले भने ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार १७:०९
Loading...