‘सहन नसकेपछि’ मेस्सीसँग रिसाए प्रशिक्षक कोम्यान

एजेन्सी, कात्तिक २१
स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ सिजनमा उत्कृष्ट सुरुआत गर्न सकेको छैन । च्याम्पियन्स लिगमा बार्सिलोना समूह चरणका ३ वटै खेल जितेर शीर्ष स्थानमा रहे पनि प्रदर्शन सन्तोषजनक छैन । उता, ला लिगामा त बार्सिलोना खराब स्थितिमै छ । ६ खेल सकिँदा बार्सिलोना मात्रै ८ अंक बनाएर १२औं स्थानमा छ । यी दुई प्रतियोगितालाई हेर्दा बार्सिलोनाको हालको अवस्था र नतिजाबाट न खेलाडी खुसी हुन सक्छन्, न त प्रशिक्षक र क्लब नै ।

आफ्ना खेलाडीबाट उत्कृष्ट प्रदर्शन हुन नसक्दा तनावमा रहेका प्रशिक्षक रोनाल्डको भने धैर्यको बाँध टुटेको छ । दुई दिनअघि बार्सिलोनाले च्याम्पियन्स लिगमा डाइनामो किभलाई आफ्नै घरमा संघर्षपूर्ण तरिकाले हराएपछि उनले मिडियासँग आफ्ना असन्तुष्टि खुलेरै राखेका थिए । त्यसपछि हिजो मात्रै उनले स्पेनको पत्रिका ‘स्पोर्ट’स विशेष कुराकानी गर्दै आफ्ना खेलाडीको प्रदर्शनलाई लिएर चर्को असन्तुष्टि जाहेर गरेका छन् । कोम्यानले कप्तान मेस्सीको प्रदर्शनमाथि पनि असन्तुष्टि पोखेका छन् ।

‘सायद बार्सिलोनाले अहिले फुटबल खेलिरहेको छैन । यहाँ यस्तो फुटबल हुँदैन । हाम्रा खेलाडी लगातार ऊर्जाविहीन खेल खेलिरहेका छन् । मलाई चिन्ता लाग्छ, हामी कसरी अगाडि बढ्ने हो,’ कोम्यानले भनेका छन्, ‘हामी साँच्चै खराब स्थितिमा त छैनौं । तर, हामी उपाधि जित्ने बाटोमा पनि छैनौं । अहिले हाम्रो अवस्था र प्रदर्शन हेरेर कोही पनि खुसी हुन सक्दैन । त्यहाँ धेरै कुरा अभाव भइरहेको छ ।’

कोम्यानले टिममा के खराब भइरहेको छ भनेर टोलीमा समीक्षा गरेको बताए । ‘हामीमा के समस्या छ भनेर छलफल पनि गरिसकेका छौं । हामी सबै थप सुधार गरेर अघि बढ्न तयार छौं । तर, मैदानमा त्यसको झल्को खेलाडीले देखाउन सकेका छैनन्,’ कोम्यानले थपे, ‘मेरो खेलाडीलाई मैले बुझ्न सकेको छैन या उनीहरूले मलाई, म अन्योलमा छु । हामीले यस्तो फुटबल खेल्नु हुँदैन । र, यी दिनहरूमा हामीले सम्झनलायक कुनै खेल खेल्न सकेका छैनौं ।’

कोम्यानले कप्तान मेस्सीको विषयमा खुलेरै बेखुसी पोखेका छन् । मेस्सीको प्रदर्शनबाट आफू खुसी हुन नसक्ने भन्दै उनले टोलीको फरवार्ड लाइन चल्न नसक्नु सबैभन्दा ठूलो चिन्ता बढेको उल्लेख गरेका छन् । ‘लियोले अहिले जे–जति गरिरहेका छन्, त्यसबाट म खुसी हुन सक्दिनँ । मैले यसअघि पनि भनें, यस्तो बेला उनीबाट अहिलेको भन्दै उच्च प्रदर्शनको आशा हामीले गरेका हुन्छौं । उनमा केही समस्या छ जस्तो मलाई लाग्दैन,’ कोम्यानले थपे, ‘टिममा छलफल हुँदा उनी ठीकठाक नै देखिन्छन् । तर, उनीबाट टिमले सहयोग पाउन सकिरहेको छैन । सकेसम्म चाँडो उनको उत्कृष्ट प्रदर्शनको प्रतीक्षामा हामी छौं ।’

कोम्यानले आफू फरवार्ड लाइनको हालको अवस्थाबाट धेरै नै चिन्तित रहेको पनि बताए । ‘अहिले फरवार्ड लाइन चल्न सकेको छैन, सबैभन्दा ठूलो चिन्ता यही हो । किनभने, खेल जित्न गोल गर्नुपर्छ । गोल गर्ने जिम्मेवारी फ्रन्ट लाइनका खेलाडीमाथि हुन्छ । जबसम्म फरवार्ड लाइन चल्दैन, हामी राम्रो अवस्थाबाट खेल जित्न सक्दैनौं । मलाई लाग्छ, खेलाडीले थप मेहनत गर्नुपर्छ र सबैले मैदानमा आत्मविश्वास बढाउनुपर्छ ।

टोलीका प्रमुख खेलाडी मेस्सीले जारी सिजन बार्सिलोनाका लागि कूल ९ खेल खेलिसकेका छन् । ती खेलबाट उनले ४ गोल मात्रै गरेका छन्, त्यो पनि सबै गोल पेनाल्टीमार्फत् । करिब १ हजार मिनेट खेलिसक्दा पनि मेस्सीले ओपन एरियाबाट १ गोल पनि गर्न नसक्दा उनको आलोचना हुन थालेको छ । यता, सधैं मेस्सीको गोल र असिस्टमा निर्भर हुँदै आएको बार्सिलोना नयाँ सिनजको सुरुआतबाटै मेस्सी चल्न नसक्दा ठूलो तनाव र दबाबमा देखिएको छ ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार १४:१७
Loading...