लिलेद्वारा एसी मिलानको धुलाइ : टुंगियो २४ खेलको अपराजित यात्रा

काठमाडौं, कात्तिक २१
इटालियन क्लब एसी मिलानको ऐतिहासिक लामो अपराजित यात्रामा पूर्णविराम लागेको छ । पछिल्ला २४ खेलमा अपराजित रहँदै आएको मिलानले गत राति युरोपा लिग फुटबलमा नमिठो हार भोग्यो । समूह चरणको तेस्रो खेलमा फ्रेन्च क्लब लिलेले मिलानलाई उसकै घरेलु मैदानमा ०–३ ले नमिठो धुलाइ गरेको हो ।

सबैखाले प्रतियोगिताबाट पछिल्ला २४ खेलमा मिलानले एकपटक पनि हार भोगेको थिएन । तर, २५औं खेलमा उसले आफ्नै घरमा नमिठो हार टार्न सकेन । यो सिजन उत्कृष्ट लयमा रहेको मिलानले सिरी ए लिगसहित अन्य प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो । मिलानले आफ्नो क्लबको इतिहसामा २४ खेलसम्म नहारेको यो नै पहिलोपटक थियो तर, लिलेले उसको लामो अपराजित यात्रालाई २५ खेलसम्म पुग्न नदिई २४ खेलमै टुंगाइदियो ।

मिलानको घरेलु मैदानमा लिलेलाई जिताउन युसुफ याजिसी नायक बने । उनको ह्याट्रिक गोलको अगाडि ज्लाटन इब्राहिमोचिसहितका खेलाडी रहेको मिलानको कुनै सीप चलेन । लिलेले पहिलो हाफमा १ गोल गर्दा २ गोल दोस्रो हाफमा गरेको थियो । खेलको २१औं मिनेटमा लिलेका लागि याजिसीले पेनाल्टी गोल गरेर घरेलु टोलीलाई झट्का दिएका थिए ।

त्यसपछि आफ्नै घरमा चर्को दबाबमा परेको मिलान झनै दबाबमा पर्न गयो । खेलको ५५औं मिनेटमा लिलेका लागि याजिसीले व्यक्तिगत दोस्रो गोल गर्दा मिलान घरमै ०–२ ले पछि परेको थियो । दोस्रो गोल गरेको ३ मिनेटमै याजिसीले ह्याट्रिक गोल गरेपछि लिले फराकिलो जिततर्फ अघि बढेको थियो ।

०–३ ले पछि परेको मिलानले बाँकी समयमा गोल गर्न नसकेपछि खेल लिलेले जत्यो । अब यो जितसँगै लिले ३ खेलबाट ७ अंक जोडेर समूह ‘एच’को शीर्ष स्थानमा रहेको छ । पराजित मिलान ६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार ०९:२६
Loading...