युरोपा लिगमा लेस्टर सिटी र आर्सनलको फराकिलो जित

काठमाडौं, कात्तिक २१
युरोपा लिग फुटबलमा इंग्लिस क्लब लेस्टर सिटीले सहज जित निकालेको छ । समूह चरणअन्तर्गत गत राति भएको तेस्रो खेलमा लेस्टरले आफ्नो घरेलु मैदानमा ब्रागालाई ४–० ले हरायो । लेस्टरलाई जिताउन ३ जना खेलाडीले गोल गरे ।

लेस्टरका लागि पहिलो गोल खेलको २०औं मिनेटमा केलेचीले गरेका थिए । त्यसपछि दोस्रो हाफमा सुरु भएको दोस्रो मिनेटमै केलेचीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टर सहज जिततर्फ अघि बढेको थियो ।

त्यसपछि पनि लेस्टरले २ गोल थप्यो । खेलको ६७औं मिनेटमा डेनिस प्राइटले टिमका लागि तेस्रो गोल गरे भने ७८औं मिनेटमा जेम्स म्याडिसनले अर्को गोल थप्दै घरेलु टोलीको ४–० को जित पक्का गरे । अब यो जितपछि लेस्टर ३ खेलमा सबै खेल जित्दै ९ अंक बनाएर समूह ‘जी’को शीर्ष स्थानमा छ । पराजित ब्रागा २ खेल जितेर ६ अंक बनाएर दोस्रो स्थानमा छ ।

यता, गत राति नै भएको अर्को खेलमा इंग्लिस क्लब आर्सनलले शानदार जित निकाल्यो । उसले आफ्नो घरमा पाहुना टोली मोल्डेलाई ४–१ हरायो । घरेलु मैदानमा आर्सनलले २ गोल आफैंले गर्दा २ गोल भने उपहारमा पायो ।

पाहुना टोली मोल्डेले खेलको २२औं मिनेटमा आर्सनलविरुद्ध गोल गरेको थियो । सो गोल मार्टिन इलिङ्सेनले गरेका थिए । तर, त्यसपछि मोल्डेका लागि खराब रह्यो । खेलको ६२औं मिनेटमा पुग्दा उसले २ आत्मघाती गोल हान्यो । पहिलो हाफको इन्जुरी समयमा मोल्डेका क्रिस्टोफर हाउगेनले आफ्नै पोस्टमा गोल गरे भने ६२औं मिनेटमा मोल्डेकै सेरिफ सिन्यामले गोल गरेपछि आर्सनलले उपहार गोल पाएर २–१ ले अघि रह्यो

२ आत्मघाती गोल पाएपछि खेलमा हाबी भएको आर्सनलले खेलको ६९औं मिनेटमा गोल हान्यो । सो गोल निकोलास पेपेले गरेका थिए । त्यसपछि ८८औं मिनेटमा जोए विललकले गोल गरेपछि खेल आर्सनलले ४–१ ले जित्यो । अब यो जितपछि आर्सनलले ३ वटै खेल जितेर ९ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ । पराजित मोल्डे ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार ०८:२६
Loading...