युरोपा लिगमा टोटनह्यामको सहज जित : रोमाको फराकिलो जित

काठमाडौं, कात्तिक २१
युरोपा लिग फुटबलमा इंग्लिस क्लब टोटनह्यामले सहज जित दर्ता गरेको छ । समूह चरणअन्तर्गत गत राति भएको तेस्रो खेलमा टोटनह्यामले लुडोगोरेट्सलाई उसकै घरेलु मैदानमा १–३ ले हरायो । टोटनह्यामलाई जिताउनेक्रममा ह्यारी केनले खेलको २१औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यसपछि खेलको ३२औं मिनेटमा पाहुना टोली टोटनह्यामका लागि दोस्रो गोल लुकास मोउराले गरेपछि पहिलो हाफमा ०–२ को अग्रता बनायो । दोस्रो हाफ सुरु भएको ५ मिनेटमै लुडोगरेट्सका लागि क्लाउडिउ केसेरुले गोल गर्दै खेल १–२ मा छोट्याएका थिए ।

त्यसपछि टोटनह्यामका लागि खेलको ६२औं मिनेटमा जिओभानी लो सेल्सोले टोटनह्यामका लागि तेस्रो गोल गरे । सो गोलपछि खेलमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल टोटनह्यामले १–३ ले जित्यो । अब यो जितपछि टोटनह्याम ३ खेलमध्ये २ खेल जितेर ६ अंकसहित समूह ‘जे’ को शीर्ष स्थानमा छ । पराजित लुडोगोरेट्स अंकविहीन हुँदै सबैभन्दा पुछारमा छ ।

यता, गत राति नै भएको अर्को खेलमा इटालियन क्लब रोमाले पनि फराकिलो जित निकालेको छ । आफ्नो घरेलु मैदानमा रोमाले पाहुना टोली सिफिआर क्जललाई ५–० ले निराश बनायो । रोमालाई जिताउन ४ जना खेलाडीले गोल गरे ।

खेलको पहिलो मिनेटमै रोमाका लागि हेनरिख म्याखित्रानले गोल गरेका थिए । त्यसपछि २४औं मिनेटमा इबानेजले दोस्रो गोल गरे भने त्यसपछि ३४औं मिनेटमा स्पेनिस रियल मड्रिडबाट लोनमा गएका बोर्जा मायोरालले गोल गरे । सो गोलपछि ८४औं मिनेटमा मायोरालले नै व्यक्तिगत दोस्रो गोल गरे भने ८९औं मिनेटमा पेड्रोले गोल गरेपछि खेल रोमाले ५–० ले जित्यो ।

अब यो जितपछि रोमा ३ खेलबाट ७ अंक जोडेर समूह ‘ए’को शीर्ष स्थानमा छ । योङ ब्वाइज र सिफिआर क्लज समान ४–४ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार ०७:५९
Loading...