म्याराडोना अस्पतालमा : मेस्सीले पठाए यस्तो सन्देश

एजेन्सी, कात्तिक २०
स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले आफ्नो देशका लिजेन्ड खेलाडी तथा पूर्वप्रशिक्षक डिएगो म्याराडोनालाई शुभकामना सन्देश पठाएका छन् । मेस्सीले हाल उपचारक्रममा रहेका म्याराडोनाको स्वास्थ्य लाभको कामना गर्दै एक सन्देश पठाएका हुन् ।

म्याराडोना २ दिनअघि मात्रै अर्जेन्टिनाको एक अस्पतालमा भर्ना भएका थिए । उनको मंगलबार राति मस्तिष्कमा देखिएको ब्लड क्लटको सफल शल्यक्रिया भएको थियो । म्याराडोना अझै पनि सोही अस्पतालमा उपचारक्रममै छन् । उनको स्थानीय ओलिभोस अस्पतालमा उपचार जारी छ ।

विगतमा आफ्ना प्रशिक्षकसमेत रहेका म्याराडोनालाई मेस्सीले म्यारोडाना र आफूसहितको एक तस्बिर पोस्ट गरेर स्वास्थ्य लाभको कामना गर्दै सन्देशमा भनेका छन्– ‘डिएगो ! संसारको सबै शक्ति, मेरो परिवार र म तपाईंलाई सकेसम्म चाँडो निको भएको हेर्न चाहन्छौं । तपाईंलाई मेरो अंकमाल छ ।’

सन् २०१० मा अर्जेन्टिनाले म्याराडोनाकै नेतृत्वमा फिफा विश्वकप खेलेको थियो । म्याराडोनाले आफ्नो नेतृत्वकालमा नै मेस्सीलाई पहिलोपटक राष्ट्रिय टोलीको कप्तान बनाएका थिए । म्याराडोना र मेस्सीबीच राम्रो सम्बन्ध रहे पनि बेला–बेला म्याराडोनाले मेस्सीको खुलेरै आलोचना पनि गर्दै आएका छन् ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार १८:४८
Loading...