…… अनि उनलाई रोनाल्डोले भेट्न बोलाए

एजेन्सी, कात्तिक २०
गत आइतबार इटालियन सिरी ए लिग फुटबलमा युभेन्टसले स्पेजियालाई उसकै घरमा १–४ ले हरायो । स्पेजिया यसै सिजन मात्रै शीर्ष लिगमा बढुवा भएको टोली हो । सिजनको पहिलो खेल खेल्न युभेन्टसलाई आफ्नो घरमा स्वागत गर्दा घरेलु टोलीले फराकिलो हार भोग्यो ।

तर, सो खेलपछि स्पेजियाका खेलाडी इमानुएल ग्यासीको भने एक ठूलो सपना पूरा भयो । घानियन–इटालियन २६ वर्षका ग्यासी रोनाल्डोका ठूला फ्या फ्यान रहेछन्, जसले रोनाल्डोलाई आफ्नो करिअरको सबैभन्दा ठूलो आइडल मान्छन् । तर, उनले यसअघि कहिल्यै पनि रोनाल्डोसँग भेट गर्ने र कुरा गर्ने मौका पाएका थिएनन् ।

आइतबार युभेन्टसविरुद्धको खेलमा रोनाल्डो खेल्ने खबरले उनी निकै उत्साहित थिए । कारण, उनले रोनाल्डोसँग भेट्न पाउँथे । र, उनीविरुद्ध खेल्न पनि पाउँथे । रोनाल्डो कोरोना भाइरसबाट संक्रमित बनेर आइसोलेसनमा रहेका बेला उनी आफ्नो टिमविरुद्ध खेल्न उपलबध हुन्छन् कि हुँदैनन भन्नेमा ग्यासीलाई पिर परेको रहेछ । तर, अन्तिम समयमा रोनाल्डो आफ्नो टिमविरुद्ध खेल्ने भएपछि उनी ज्यादै खुसी भए ।

स्पेजियाविरुद्ध सुरुमा बेन्चमा बसेका रोनाल्डोले ५६ औं मिनेटमा मैदान छिरेर २० मिनेटको बीचमा २ गोल गरे । उनी खेलको म्यान अफ् द म्याच समेत घोषित भएका थिए । २० दिनपछि मैदान फर्किंदा रोनाल्डोेले व्यक्तिगत रूपमा उच्च प्रदर्शन गर्दै टिमलाई जिताउन योगदान दिए ।

सो खेलअघि ग्यासीले एक अन्तर्वार्तामा रोनाल्डोसँग भेट्न र कुरा गर्ने सपना रहेको कुरा बताएका थिए । सो अन्तर्वार्ता रोनाल्डोले पनि पढेका–हेरेका रहेछन् । जब स्पेजियाविरुद्धको खेल सकियो, मैदानको अर्को भागमा निराश मुद्रामा रहेका ग्यासीलाई रोनाल्डो आफैंले भेट्न बोलाए । र, अंकमाल गर्दै कुरा गर्न थाले । त्यसबेला ग्यासीको खुसीको सीमा नै रहेन । ग्यासी युभेन्टसविरुद्ध ७३औं मिनेटमा मैदान छिरेका थिए ।

टिम हारेर निराश रहेका बेला आफ्ना आइडल खेलाडीले आफूलाई भेट्न बोलाएपछि ग्यासीले सबै कुरा भुले । र, रोनाल्डोसँग कुरा गर्न थाले । खेलपछि मिडियासँग अन्तर्वार्ता दिँदै ग्यासीले रोनाल्डोसँगको भेट र त्यसको पृष्ठभूमिबारे मिडियालाई बताए ।

‘जतिबेला क्रिस्टियानो आइसलोसनमा हुनुहुन्थ्यो, उहाँ हामीविरुद्ध खेल्न आउनुहुन्छ कि आउनुहुन्न भन्नेमा मलाई चिन्ता थियो । उहाँ निको भएर आउन्होस् भन्ने मेरो कामना थियो । नभन्दै उहाँ आउनुभयो र हामीविरुद्ध खल्नुभयो । उहाँले थोरै समय खेलेर पनि २ गोल गर्नुभयो । जति समय उहाँले खेल्नुभयो, मैले आफूले खेल्नुभन्दा उहाँको खेल हेरें होला । जुन खेलाडीलाई म आफ्नो आइडल मान्थें र भेट्न चाहन्थें, ती नै खेलाडीविरुद्ध खेल्नु मेरा लागि त सपनाजस्तै थियो । क्रिस्टियानोविरुद्ध खेलिरहेको छु भन्दा मलाई पत्याउनै कठिन परेको थियो,’ खेलपछि ग्यासीले भने ।

‘म भेट्न चाहन्छु भन्ने कुरा क्रिस्टियानोले अन्तर्वार्तामा पढ्नुभएको रहेछ । जब खेल सकियो, उहाँले मलाई भेट्न बोलाउनुभयो । र, अंकमाल गर्दै मेरो अन्तर्वार्ता पढेको कुरा भन्नुभयो । म धेरै खुसी भएँ, नर्भस पनि भएँ । मैले त उहाँको कुरा सुनें मात्रै । उहाँले मसँग भेट्दा खुसी लागेको कुरा मलाई बताउनुभयो,’ ग्यासीले थपे ।

रोनाल्डोसँगको भेटबारे ग्यासीले थप भनेका छन्, ‘मैले उहाँलाई तपाईं मेरो आइडल हुनुहुन्छ भनेर भनें । मलाई लाग्छ, उहाँ मेरो मात्रै नभएर यो समयका सबैजसो खेलाडीका लागि प्रेरणा र आइडल हुनुहुन्छ । खास गरी युवा खेलाडी सबैले उहाँलाई नै पछ्याएको मैले देखेको छु । उहाँ साँच्चै महान् खेलाडी हुनुहुन्छ । मेहनत, सफलता र फुटबलप्रतिको उहाँको समर्पण साँच्चै विशाल छ । उहाँको स्तरमा कोही पुग्न सक्दैन ।’

ग्यासीले रोनाल्डोले आफूलाई सधैं कडा मेहनत गर्न र सपना पूरा गर्न हिम्मत नहार्न भनेर सुझाव दिएको पनि बताए । ‘जब मैले उहाँ आफ्नो आइडल रहेको बताएँ, उहाँ हाँस्नुभयो । र, मलाई जीवनमा सपना पूरा गर्न सधैं कडा मेहनत गर्न र हिम्मत नहार्न सुझाव दिनुभयो । उहाँले हाँस्दै अर्को पटक फेरि भेट हुँदा जर्सी साट्ने बाचा गर्नुभएको छ ।’

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार १३:०२
Loading...