‘नायक’को उपमा दिँदै मोराटाद्वारा रोनाल्डोको प्रशंसा

एजेन्सी, कात्तिक २०
इटालियन क्लब युभेन्टसका फरवार्ड अल्भारो मोराटाले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । गत राति च्याम्पियन्स लिग फुटबलमा समूह चरणको तेस्रो खेलमा हंगेरीको क्लब फेरेन्सभारोसलाई हराएपछि मिडियासँग कुरा गर्दै स्पेनिस खेलाडीले रोनाल्डोलाई ‘नायक’ भन्दै तारिफ गरेका हुन् ।

युभेन्टसले १–४ ले जितेको सो खेलमा मोराटाले २ गोल र पाउलो डिबालाले १ गोल गर्दा १ गोल भने आत्मघाती भएको थियो । रोनाल्डोले मोराटाको दोस्रो गोलमा निकै सुन्दर असिस्ट गरेका थिए । सो खेलमा रोनाल्डो भने गोलविहीन बनेका थिए ।

खेलपछि कुरा गर्दै मोराटाले रोनाल्डोको तारिफ गर्न भुलेनन् । रोनाल्डोेले गोल गरे पनि वा नगरे पनि टिमका लागि उनी ज्यादै महत्त्वपूर्ण रहेको मोराटाले बताए । ‘क्रिस्टियानो को हुन् र उनले के गर्छन् भन्ने कुरा मैले भनिरहनु आवश्यक छैन । उनी सधैं खेल्न र टिमलाई सघाउन चाहन्छन् । उनी आफैंलाई मायालु बनाउँछन् । उनलाई सबै माया गर्छन्,’ मोराटाले भने ।

मोराटाले अघि थपे, ‘क्रिस्टियानो सधैं समूहमा हुन्छन् । उनी कोही न कोहीसँग कुरा गरिरहेकै हुन्छन् । उनी हाम्रा लागि टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्, नायक खेलाडी । यसमा शंका नै छैन । मलाई आशा छ, उनी सधैं हामीसँग हुनेछन् र टोलीको हिस्सा बन्नेछन् । उनी यो टिमसँग सबै कुरा जित्न चाहन्छन् ।’

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार १२:३३
Loading...