नेइमार र एमबाप्पेबिनाको पिएसजीलई लेइपजिगले हरायो

काठमाडौं, कात्तिक २०
प्रमुख खेलाडीद्वय नेइमार र केलियन एमबाप्पेबिनाको पिएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबलमा हार व्यहोरेको छ । गत राति भएको समूह चरणको तेस्रो खेलमा पिएसजीमाथि घरेलु टोली जर्मन क्लब आरबी लेइपजिगले कमब्याक जित निकाल्न सफल भयो । यस खेलमा पिएसजीको टोलीमा नेइमार र एमबाप्पे थिएनन् ।

पाहुना टोली पिएसजी खेलको ६९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । इन्ड्रिसा गुएई दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेका थिए । त्यसपछि इन्जुरी समयमा पिएसजीका अर्का खेलाडी प्रेस्नल किम्पेम्बे पनि दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेका थिए ।

तर, पहिलो रातो कार्ड खानुअघि नै पिएसजी खेलमा पछि परिसकेको थियो । पिएसजीका लागि एन्जल डि मारियाले पेनाल्टी मिस गर्नु हारको प्रमुख कारण बन्यो । पिएसजीले खेलको छैटौं मिनेटमौ डि मारियाको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि खेलको १६औं मिनेटमा पिएसजीले पेनाल्टीमार्फत् अग्रता दोब्बर बनाउने मौका पाएको थियो । तर, डि मारियाले पेनाल्टीमा गोल गर्न नसकेपछि पिएसजीले अग्रता बढाउन पाएन । पेनाल्टी गुमाएर दबाबमा परेको पिएसजीले ४१औं मिनेटमा बराबरी गोल खायो । घरेलु टोली लेइपजिगका लागि क्रिस्टोफर कुन्कुले गोल गर्दै खेल १–१ बनाए ।

त्यसपछि दोस्रो हाफमा लेइपजिगले पेनाल्टीमार्फत् निर्णायक गोल हान्यो । खेलको ५७औं मिनेटमा पाएको पेनाल्टीमा इमिल फर्सवर्गले पेनाल्टीमा गोल गरेपछि खेलमा घरेलु टोलीले २–१ को अग्रता दिलायो । त्यसपछि पिएसजी पुनः खेलमा फर्किन सकेन । र, खेल लेइपजिगले जित्यो ।

अब यो हारसँगै पिएसजी ३ खेलबाट मात्रै ३ अंकसहित समूह ‘एच’को तेस्रो स्थानमा झरेको छ । विजयी लेइपजिग ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा चढेको छ । समान ६ अंक नै भएको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०८:४७
Loading...