च्याम्पियन्स लिग : हल्यान्ड चम्किँदा डर्टमुन्डको शानदार जित

काठमाडौं, कात्तिक २०
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले प्रभावशाली जित निकालेको छ । गत राति भएको समूह चरणको तेस्रो खेलमा डर्टमुन्डले बेल्जियमको क्लब ब्रुगीलाई उसकै घरेलु मैदानमा ०–३ ले हरायो ।

अवे मैदानमा डर्टमुन्डलाई जिताउन नर्वेका युवा स्टार अर्लिङ हल्यान्ड नायक बने । उनले २ गोल गरे । डर्टमुन्डले खेलको १४औं मिनेटमा थ्रोगन हाजार्डको गोलबाट अग्रता लिएको थियो । त्यसको ४ मिनेटमै हल्यान्डले पहिलो गोल गरेर खेल ०–२ बनाए ।

आफ्नो घरमा चर्को दबाबमा परेको ब्रुगीले खेलमा केही राम्रा गोलका अवसर बनाएको थियो । तर, सदुपयोग गर्न सकेन । सोहीक्रममा खेलको ३२औं मिनेटमा डर्टमुन्डका लागि तेस्रो गोल हल्यान्डले नै गरेपछि खेल टिम स्पष्ट रूपमा ०–३ ले अघि रह्यो ।

त्यसपछि पहिलो हाफको बाँकी समय र दोस्रो हाफमा समेत दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल डर्टमुन्डले ०–३ ले जित्यो । अब यो जितसँगै डर्टमुन्डले ३ खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । ५ अंक भएको लाजियो दोस्रो स्थानमा छ भने पराजित ब्रुगी ४ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०८:२२
Loading...