च्याम्पियन्स लिग : मोराटा र डिबाला चम्किँदा युभेन्टसको शानदार जित

काठमाडौं, कात्तिक २०
इटालियन क्लब युभेन्टसले युरोपियन च्याम्पियन्स लिग फुटबलमा दोस्रो जित हात पारेको छ । समूह चरणको तेस्रो खेलमा युभेन्टसले हंगेरीको क्लब फेरेन्सभारोसलाई उसकै घरेलु मैदानमा १–४ को हार चखायो । युभेन्टसलाई जिताउन अल्भारो मोराटा र पाउलो डिबाला नायक बने ।

युभेन्टसको जितमा मोराटाले २ सुन्दर गोल गरे पनि दोस्रो हाफमा मोराटाकै स्थानमा बेन्चबाट मैदान छिरेका पाउलो डिबाला २ गोलमा सहभागी भए । उनले १ गोल आफैं गरे भने अर्को गोलमा पनि भूमिका खेले । डिबालाको दोस्रो प्रहारमा आत्मघाती गोल भएको थियो ।

युभेन्टसले खेलको सातौं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो । जुआन काउडराडोको ब्याक पासमा मोराटाले निकै सुन्दर गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६०औं मिनेटमा मोराटाले नै व्यक्तिगत दोस्रो गोल गरे । क्रिस्टियानो रोनाल्डोले मैदानको तल्लो भागबाट दिएको लामो पासमा बक्सभित्र रहेका मोराटाले बुलेट सटमा सोझै जाली चुमाएपछि युभेन्टस जिततर्फ अघि बढेको थियो ।

यस खेलमा रोनाल्डोेले २ गोलका सहज अवसर सदुपयोग गर्न सकेनन् । उनको एक शक्तिशााली फ्रि किक प्रहारलाई गोलकिपरले बचाएका थिए । यस खेलमा रोनाल्डोले गोल नगरे पनि असिस्ट गरेर टिमलाई सघाए ।

युभेन्टसका लागि तेस्रो गोल मोराटाको स्थानमा ६७औं मिनेटमा मैदान छिरेका डिबालाले गरे । फेरेन्सभारोसका गोलकिपरको गल्तीको फाइदा उठाउँदै उनले ७२औं मिनेटमा गोल गरेका थिए । गोलकिपरले प्रहार गरेको बल ब्लक गरेर डिबालाले सहजै गोल गरेका थिए । त्यसपछिको गोलमा पनि गोलकिपरकै गल्ती रह्यो । डिबालाले त्यसको फाइदा उठाउँदै प्रहार गरेको सटले ८१औं मिनेटमा पोस्टको दिशा लिँदै थियो ।

तर, फेरेन्सभारोसका लासा डाभिलले जम्प गरेर बल क्लियर गर्न सक्दो प्रयास गरे पनि सकेनन् । र, उनको खुट्टामा लाग्दै गोल भयो । सो गोललाई युइएफएले आत्मघाती गोलमा राखेपछि डिबालाको गोल खोसियो । सो गोलछि युभेन्टस ०–४ को स्थितिमा थियो । तर, खेलको ९०औं मिनेटमा फेरेन्सभारोसका लागि फ्रान्क बोलीले गोल गरेपछि युभेन्टसको जित १–४ मा खुम्चियो ।

अब यो जितपछि समूह ‘जी’मा युभेन्टस ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । ३ वटै खेल जितेर ९ अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा छ । युभेन्टससँग पराजित फेरेन्सभारोस १ अंकसहित चौथो स्थानमा रहँदा बार्सिलोनासँग पराजित डाइनामो किभ पनि १ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०३:४२
Loading...