च्याम्पियन्स लिगमा बार्सिलोनाको लगातार तेस्रो जित

काठमाडौं, कात्तिक २०
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित दर्ता गरेको छ । समूह चरणको तेस्रो खेलमा बार्सिलोनाले युक्रेनको क्लब डाइनामो किभमाथि २–१ को जित निकालेको हो । यससँगै बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिगमा खेलेका ३ वटै खेल जित्न सफल भएको छ ।

घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लिओनल मेस्सीले खेलको पाँचौं मिनेटमै गोल गरेका थिए । बक्समा किभका खेलाडीले फउल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए, जसमा मेस्सीले कुनै गल्ती नगरी गोल गरेर टिमलाई अग्रता दिलाए । यससँगै मेस्सीले यो सिजन बार्सिलोनाका लागि लगातार चौथो गोल पनि पेनाल्टीमार्फत् गरेका छन् । उनले यो सिजन हालसम्म पेनाल्टीबाहेक गोल गर्न सकेका छैनन् ।

त्यसपछि बार्सिलोनाले दोस्रो गोल ६५औं मिनेटमा हान्यो । यसपटक डिफेन्डर जेरार्ड पिकेले हेडिङमार्फत् गोल गरे । अन्सु फातीले बक्समा दिएको पासमा पिकेले कुनै गल्ती नगरी गोल गरेर टिमलाई जिततर्फ अघि बढाएका थिए । त्यसपछि ७५औं मिनेटमा पाहुना टोली किभले गोल गरेर खेलमा फर्किने संकेत दिएको थियो । बार्सिलोनाको कमजोर डिफेन्सको भिक्टोरले गोल गर्दै खेल २–१ मा छोट्याएका थिए ।

तर, त्यसपछि बाँकी समयमा पाहुना टोलीले थप गोल निकाल्न नसक्दा खेल बार्सिलोनाले २–१ ले जित्यो । यो जितसँगै बार्सिलोेनाले ३ खेलबाट ९ अंक जोडेर समूह ‘जी’मा शीर्ष स्थानमा पकड जमाएको छ । पराजित किभ मात्रै १ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०३:३४
Loading...