‘मेस्सीसँग सम्बन्ध बिग्रिएको’ विषयमा बोले कोम्यान

एजेन्सी, कात्तिक १९
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना कप्तान लिओनल मेस्सीसँगको सम्बन्धबारे धारणा राखेका छन् । मिडियामा लगातार कोम्यान र मेस्सीको सम्बन्ध सुमधुर नरहेको भन्ने चर्चा चलिरहेका बेला कोम्यानले सो विषयमा प्रष्टीकरण दिएका हुन् ।

बार्सिलोनाले आज बुधबार राति च्याम्पियन्स लिगमा समूह चरणको तेस्रो खेल युक्रेनको क्लब डाइनामो किभसँग खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा भाग लिँदै कोम्यानले यसबारेमा जवाफ दिए । पछिल्लो समय मेस्सीले लयमा प्रदर्शन गर्न नसकेको साथै प्रशिक्षकसँग मेस्सीको सम्बन्ध राम्रो बन्न नसक्दा त्यसको असर मैदानमा देखिएको भन्ने विषयमा पत्रकारले सोधेको प्रश्नमा कोम्यानले उत्तर दिएका थिए ।

सोक्रममा डच म्यानेजर कोम्यानले मेस्सीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताए । मेस्सीसँग आफ्नो नियमित संवाद हुँदै आएकाले आपसमा कुनै समस्या नरहेको उनले बताए । यसअघिका प्रशिक्षक क्विके सेटिएनले भने केही दिनअघि मात्रै मेस्सीलाई टोलीमा व्यवस्थापन गर्न निकै कठिन रहेको बताएका थिए ।

‘म सबैको विचारको सम्मान गर्छु । सेटिनको भनाइमा मेरो कुनै नराम्रो कमेन्ट छैन । मेरा लागि लियो विश्वकै नम्बर वान खेलाडी हुन्,’ कोम्यानले भने, ‘उनीसँग मेरो नियमित संवाद हुन्छ । व्यक्तिगत र टिमका विषयमा पनि । हामीबीच केही समस्या छैन । हाम्रो सम्बन्ध राम्रो छ ।’

कोम्यानले मेस्सी अहिले पनि खेल्न र जित्न आतुर रहेको बताए । साथै, कोम्यानले मेस्सी चाँडै राम्रो लयमा फर्किने विश्वाससमेत लिए । ‘उनको लक्ष्य र दृढतामा कुनै कमी आएको छैन । म उनलाई दैनिक हेरिरहेको छु । उनी त मेरा लागि कठिन खेलाडी होइनन् । हामी सबै विषयमा कुरा गर्छौं । हामी खेलका विषयमा र अन्य विषयमा पनि खुलेर कुरा गर्छौं,’ कोम्यानले थपे ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार २०:५१
Loading...