‘डिफेन्डिङ फरवार्ड’ रामोसले पूरा गरे १०० गोलको कोसेढुंगा

काठमाडौं, कात्तिक १९
आफ्नो खेल शैली र पोजिसन ‘डिफेन्डर’को तर काम भने ‘फरवार्ड’ गर्ने स्पेनिस फुटबल क्लब रियल मड्रिडका कप्तानसमेत रहेका डिफेन्डर सर्जियो रामोसले गोलमा शतक पूरा गरेका छन् । उनले क्लब रियलका लागि करिअरको १००औं गोलको कोसेढुंगा गत राति पूरा गरेका हुन् ।

गत राति युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको तेस्रो खेल इटालियन क्लब इन्टर मिलानविरुद्ध खेल्नेक्रममा १ गोल गरेपछि रियलको जर्सीमा रामोसले गरेको कूल गोल संख्या १०० पुगेको हो । स्पेनिस डिफेन्डर रामोस अब रियलको इतिहासमा सबैभन्दा धेरै गाल गर्ने खेलाडी बनेका छन् । रियल मात्रै नभएर उनी विश्व फुटबल इतिहासमै सर्वाधिक गोल गर्ने कीर्तिमानी डिफेन्डर हुन् । उनका नाममा यस्तो रेकर्ड क्लब र अन्तर्राष्ट्रिय फुटबल दुवैतर्फ छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि रामोसले दोस्रो गोलका रूपमा ३३औं मिनेटमा हेडिङमार्फत् सुन्दर गोल गेका थिए । सो गोलसँगै उनले रियलका लागि सबैखाले प्रतियोगिताबाट गरेको कूल गोल संख्या १०० पुगेको हो ।

सिजन २००५–०६ देखि रियलबाट खेल्न थालेका रामोसले रियलमा कूल ६५९ खेल खेल्दै १०० गोल पूरा गरेको हो । रामोसले गरेका गोलमध्ये ला लिगामा ४६१ खेलबाट ७२ गोल, च्याम्पियन्स लिगमा १२६ खेलबाट १४ गोल गरेका छन् । उनले बाँकी गोल अन्य प्रतियोगितामा गरेका छन् । यता, स्पेनका लागि १७५ खेलबाट उनले २३ गोल गरेका छन् ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार १८:३०
Loading...