च्याम्पियन्स लिगमा आज बार्सिलोना र डाइनामो किभ भिड्दै

काठमाडौं, कात्तिक १९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज स्पेनिस क्लब बार्सिलोना र युक्रेनको क्लब डाइनामो किभको खेल हुँदैछ । समूह चरणअन्तर्गत तेस्रो राउन्डको खेल खेल्न किभको टोली स्पेन उत्रिसकेको छ । यो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा नेपाली समयअनुसा राति ठीक १ः४५ बजेबाट सुरु हुने तालिका छ ।

हाल समूह ‘जी’मा बार्सिलोना २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । डाइनाको किभ मात्रै १ अंकसहित तेस्रो स्थानमा छ । बार्सिलोनाले यसअघिका सुरुआती दुवै खेल जितेको छ भने किभले एक खेल हारेर एक खेल बराबरी गरेको छ ।

आज आफ्नो घरमा उत्रिँदा बार्सिलोनाको टोलीमा सबै खेलाडी ठीकठाक छन् । क्याटलान टोलीलाई प्रमुख खेलाडीमा प्रतिबन्ध वा चोटको पिरलो छैन । तर, आजको खेलमा पाहुना टोली किभ अनेक तनावमा हुनेछ ।

पहिलो कुरा त, आज राति हुने यो खेल हुने–नहुनेमै अनिश्चित छ । किभको सिनियर टोलीका ६ जना खेलाडी, सहायक प्रशिक्षक र अन्य ४ जना स्टाफमा कोरोना भाइरसको संक्रमण रहेकाले सो टोलीमा पहिलो रोजाइका खेलाडीको संख्या कम छ, मात्रै १३ जना । स्पेन आइसकेपछि उनीहरूको दुई चरणमा कोरोना जाँच हुनेछ । पहिलोपटक आउनासाथ र दोस्रो खेलको समयभन्दा ठीक १२ घन्टाअघि । अन्तिम समयको कोरोना जाँच रिपोर्ट नआउँदासम्म यो खेल हुने वा नहुने टुंगो हुनेछैन ।

युइएफएको ‘कोरोना प्रोटोकल’अनुसार अब किभका थप १ जना सिनियर टोलीका खेलाडीमा संक्रमण देखिए यो खेल अन्तिम समयमा पुगेर भए पनि रोकिने पक्का छ । नियमअनुसार सिनियर टोलीका ६ जनाभन्दा बढी खेलाडीमा कोरोना देखिए सो टोलीका खेल स्वतः स्थगित हुनेछन् । तसर्थ, बार्सिलोना र किभको खेलअघि किभका खेलाडीको अन्तिम कोरोना जाँचको रिपोर्टको प्रतीक्षा छ ।

स्पेन भ्रमणमा रहेको किभको टोलीमा सिनियर टोलीका १३ जना र टिम ‘बी’बाट ६ जना खेलाडी डाकिएको छ । त्यसैगरी, पहिलो रोजाइका गोलकिपर घाइते भएको अवस्थामा गोलकिपर पनि टिम ‘बि’बाटै डाकिएको छ । हाल किभको टोलीमा औसतमा २२ वर्ष उमेर समूहका खेलाडी मात्रै सहभागी छन् । यदि आजको खेल भए किभले यु–२३ टोलीको हैसियतमा बार्सिलोनाविरुद्ध खेल्नेछ, जुन बार्सिलोनाका लागि धेरै नै आरामदायी खेल हुनसक्छ ।

यो समाचार बनाउँदासम्म बार्सिलोना र किभको खेल नहुने निर्णय औपचारिक रूपमा भइसकेको छैन । यसको अर्थ खेल हुन गइरहेको छ भन्ने नै हो । यदि खेल नहुने अफिसियल निर्णय भए अपडेट गरिनेछ । यता, बार्सिलोनाले पनि यो समाचार बनाउँदासम्म किभविरुद्ध खेल्ने प्रारम्भिक कटोल समेत घोषणा गरेका छैन ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार १२:४०
Loading...