च्याम्पियन्स लिगमा आज युभेन्टस र फेरेन्सभारोसको भिडन्त : रोनाल्डो पहिलो खेल खेल्दै

काठमाडौं, कात्तिक २०
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज विभिन्न ६ खेलहरू हुँदैछन् । ती खेलमध्ये हंगेरीको क्लब फेरेन्सभारोस र इटालियन क्लब युभेन्टसको खेल धेरैका लागि प्रतीक्षाको खेल हुनेछ । किनभने, युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आज यसै खेलबाट यो सिजनको पहिलोपटक च्याम्पियन्स लिग खेल खेल्दैछन् ।

यो खेलका लागि युभेन्टस अघिल्लो दिन नै हंगेरी पुगिसकेको छ । खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । हाल समूह ‘जी’ को अंक तालिकामा युभेन्टस ३ अंकसहित दोस्रो स्थानमा छ भने युभेन्टसलाई आफ्नो घरमा भित्र्याउन लागेको फेरेन्सभारोस मात्रै १ अंकसहित सबैभन्दा पुछारमा छ ।

रोनाल्डोले यसअघि च्याम्पियन्स लिगमा दुई खेल कोरोना भाइरस संक्रमणका कारण गुमाइसकेका छन् । उनले पहिलो खेलमा डाइनामो किभ र दोस्रो खेलमा बार्सिलोनाविरुद्ध खेलेका थिएनन् । उनी केही दिनअघि मात्रै कोरोनामुक्त भएर सिरी ए लिगमा स्पेजियाविरुद्धको खेलबाट मैदान फर्किएका थिए । सो खेलमा रोनाल्डो ५६औं मिनेटमा मैदान छिरेर २० मिनेटको बीचमा २ गोल गर्दै २० दिनपछि उत्कृष्ट कमब्याक गरेका थिए । सोे खेलपछि आज रातिको खेल खेल्दा ३५ वर्षका रोनाल्डो उच्च मनोबलमा हुनेछन् ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ११:५२
Loading...