रियल मड्रिडलाई उसकै घरमा हराएको शाख्तरले आफ्नै घरमा खायो आधा दर्जन गोल !

काठमाडौं, कात्तिक १९
च्याम्पियन्स लिग फुटबलमा युक्रेनको क्लब शाख्तर डोनेट्स्कले लज्जास्पद हार भोगेको छ । गत राति भएको समूह चरणको तेस्रो खेलमा जर्मनीको बुन्डेसलिगा क्लब मोन्चेङ्लाडवाचले युक्रेनको क्लब शाख्तरलाई उसकै घरेलु मैदानमा ०–६ को बेइज्जतीपूर्ण हारको सिकार बनायो ।

शाख्तर त्यही टिम हो, जसले अक्टोबर २१ तारिखमा स्पेनिस कलब रियल मड्रिडलाई उसकै घरेलु मैदानमा २–३ ले पराजित गरेको थियो । तर, रियललाई हराएर अघि बढेको शाख्तरले मोन्चेङ्लाडवाचसँग खेल्दा गोलको भारी नै बोक्यो ।

शाख्तरलाई उसकै घरमा हराउनेक्रममा मोन्चेङ्लाडवाचका लागि अलास्साने प्लियाले ह्याट्रिक गोल गरे भने १ गोल उपहारमा पायो । मोन्चेङ्लाडवाचका लागि प्लियाले खेलको आठौं मिनेट र २६औं मिनेटमा गरी पहिलो हाफमा २ गोल गरेका थिए । १७औं मिनेटमा शाख्तरले आफ्नै पोस्टमा गोल गरेको थियो ।

त्यसपछि खेलको ४४औं मिनेटमा रमी बेन्सेबैनीले गोल गरेपछि मोन्चेङ्लाडवाच पहिलो हाफमा ०–४ अघि रह्यो । त्यसपछि दोस्रो हाफको ६५औं मिनेटमा मोन्चेङ्लाडवाचका लागि लार्स स्टिन्डलले गोल गरे । फेरि ७८औं मिनेटमा प्लियाले व्यक्तिगत तेस्रो गोल गरेर आफ्नो ह्याट्रिक पूरा गरे भने टिमको ०–६ को जित पनि पक्का गरे ।

यो जितसँगै मोन्चेङ्लाडवाच अब ३ खेलबाट ५ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा छ । पराजित शाख्तर ४ अंकसहित दोस्रो स्थानमा रहँदा रियल मड्रिड ४ अंकसहित तेस्रो स्थानमा छ । इटालियन इन्टर मिलान २ अंकसहित चौथो स्थानमा छ । हालकै स्थितिमा मिलान सबैभन्दा खराब स्थितिमा छ । उसले ३ खेलबाट मात्रै २ अंक जोडेको छ ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ०९:५४
Loading...