च्याम्पियन्स लिगमा सिटीको लगातार तेस्रो जित

काठमाडौं, कात्तिक १९
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लब म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ । गत राति भएको समूह चरणको तेस्रो खेलमा सिटीले ग्रीसको क्लब ओलम्पियाकोसलाई आफ्नो घरेलु मैदानमा ३–० ले पराजित गरेको हो । सिटीले समूह चरणमा खेलेका ३ वटै खेल जितेको छ ।

सिटीलाई घरमा जिताउनेक्रममा ३ जना खेलाडीले गोल गरे । खेलको १२औं मिनेटमा फेर्रान टोरेजले पहिलो गोल गरेका थिए । उनको गोलमा केभिन डे ब्रुयानेले असिस्ट गरेका थिए । सो गोलपछि सिटीलाई अर्को गोल थप्न खेलको अन्तिम समयसम्म नै लड्नु परेको थियो ।

खेलको ८१औं मिनेटमा सिटीका लागि ग्याब्रिएल जेससले गोल गरेपछि सिटीले जित पक्का गरेको थियो । उनको गोलमा पनि डे ब्रुयानेले नै असिस्ट प्रदान गरेका थिए । त्यसपछि खेलको अन्तिम समय ९०औं मिनेटमा जोआओ कान्सेलोले गोल गरेपछि खेल सिटीले ३–० ले जित्यो ।

अब यो जितछि सिटी समूह चरणमा शतप्रतिशत नतिजा कायम गर्दै ९ अंक जोडेर समूह ‘सी’को पहिलो स्थानमा रहेको छ । पराजित आलम्पियाकोस ३ अंकसहित तेस्रो स्थानमा छ । पोर्चुगिज क्लब पोर्टो ६ अंकसहित दोस्रो स्थानमा छ । फ्रेन्च क्लब मार्सेइल्ली ३ वटै खेल हारेर सबैभन्दा पुछारमा रहेको छ ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ०८:१४
Loading...