लिभरपुलद्वारा एटलान्टाको ‘रामधुलाइ’ : जोटाले हाने ह्याट्रिक

काठमाडौं, कात्तिक १९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले समूह चरणको तेस्रो खेलमा फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा लिभरपुलले इटालियन क्लब एटलान्टालाई उसकै घरमा धुलाइ गर्दै ०–५ लज्जास्पद हारको सिकार बनायो । एटलान्टा गत सिजन सेमिफाइनल खेलेको टोली हो । र, ऊ सिरी ए लिगमा समेत उपाधि दाबेदार मानिन्छ ।

तर, च्याम्पियन्स लिगमा उसले आफ्नै घरमा पाहुना टोली लिभरपुलसँग फराकिलो हारबाट पीडित बन्नुपरेको हो । लिभरपुलको फराकिलो जितमा केही समयअघि मात्रै समर विन्डोमा अनुबन्ध भएका पोर्चुगिज खेलाडी डिएगो जोटाले ह्याट्रिक गोल गरे । लिभरपुलले २ गोल पहिलो हाफ र ४ गोल दोस्रो हाफमा गरेको हो ।

लिभरपुलका लागि खेलको १६औं मिनेटमा जोटाले पहिलो गोल गरेका थिए । त्यसपछि जोटाले नै खेलको ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ०–२ को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफ सुरु भएको २ मिनेटमै लिभरपुलका लागि मोहमद सालाहले गोल गरे भने त्यसको २ मिनेटमै साडियो मानेले गोल गरेपछि लिभरपुल ०–४ को फराकिलो स्थितिमा पुग्यो । लिभरपुलले दोस्रो हाफ सुरु भएको ४ मिनेटमा २ गोल गरेको थियो । त्यसपछि ५४औं मिनेटमा जोटाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे । उनले लिभरपुलको जर्सीमा पहिलो ह्याट्रिक गरेका हुन्, त्यो पनि च्याम्पियन्स लिगमा ।

जोटाले ह्याट्रिक गोल गरेपछि बाँकी समयभरिमा एटलान्टाले गोल फर्काउन सकेन । र, खेल लिभरपुलले ०–५ ले जित्यो । अब यो जितसँगै लिभरपुलले सुरुआतका ३ वटै खेल जितेर ९ अंकसहित समूह ‘डी’ को शीर्ष स्थानमा रहेको छ । पराजित एटलान्टा ४ अंकसहित तेस्रो स्थानमा रहँदा डच क्लब आयाक्स पनि ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ०७:५७
Loading...