च्याम्पियन्स लिग : बार्यनको फराकिलो जितमा लेवान्डोस्कीको २ गोल

काठमाडौं, कात्तिक १९
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा जर्मन क्लब बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । समूह चरणअन्तर्गत गत राति भएको तेस्रो खेलमा बार्यनले अस्ट्रियन क्लब रेडबुल साल्जवर्गलाई उसकै घरेलु मैदानमा २–६ को फराकिलो अन्तरले हरायो ।

बार्यनलाई अवे मैदानमा शानदार जित दिलाउनेक्रममा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले २ गोल गरे भने बार्यनले १ गोल उपहारमा पायो । खेलमा अग्रता भने साल्जवर्गले लिएको थियो । उसका लागि मर्जिम बेरिसाले खेल सुरु भएको चौथो मिनेटमै गोल गर्दै बार्यनविरुद्ध अग्रता दिलाएका थिए । त्यसपछि बार्यनले २१औं मिनेटमा पेनाटी पायो, जसमा लेवान्डोस्कीले गोल गर्दै खेल १–१ बनाए ।

त्यसपछि पहिलो हाफको अन्तिम समयमा ४४औं मिनेटा साल्जवर्गका डिफेन्डर रासमुस क्रिस्टिनसेनले आफ्नै पोस्टमा गोल गर्दा बार्यनले खेलमा अग्रता पायो । त्यसपछि ६६औं मिनेटमा साल्जवर्गका लागि मासाय ओकुगुवाले गोल गरेपछि खेल दोस्रोपटक २–२ को बराबरीमा आइपुग्यो ।

त्यसपछि भने बार्यन खेलमा एकपक्षीय रूपमा हाबी भयो । उसले ७९ देखि थप समयसम्म पुग्दा १३ मिनेटको बीचमा ४ गोल थप्यो । ७९औं मिनेटमा जेरोमे बोटेङले टोलीका लागि तेस्रो गोल गर्दा ८३औं मिनेटमा लिरोए सानेले गोल गरे भने ८८औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि थप समयको दोस्रो मिनेटमा लुकास हर्नान्डेजले गोल गरेपछि खेल बार्यनले २–६ अन्तरले जित्यो ।

यो जितसँगै बार्यनले समूह चरणका ३ खेल सकिँदा शतप्रतिशत विजयी यात्रा कायमै राखेको छ । बार्यन ३ खेलबाट ९ अंक जोडेर समूह ‘ए’को शीर्ष स्थानमा छ । ४ अंक भएको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा बार्यनसँग पराजित साल्जवर्ग १ अंकसहित चौथो स्थानमा मात्र छ ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ०७:०२
Loading...