च्याम्पियन्स लिगमा रियल मड्रिडको पहिलो जित : रोड्रिगो बने नायक

काठमाडौं, कात्तिक १९
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनिस क्लब रियल मड्रिडले यस सिजनको पहिलो जित दर्ता गरेको छ । उसले समूह चरणको तेस्रो खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ ले हराउँदै पहिलोपटक स्पष्ट जित निकालेको हो । रियलको टिम ‘बी’को घरेलु रंगशाला अल्फ्रेडो डे स्टेफानो रंगशालामा रियललाई जिताउन दोस्रो हाफमा मैदान छिरेका ब्राजिलियन युवा खेलाडी रोड्रिगोले विजयी गोल गरे ।

रियलले ३३औं मिनेटमा पुग्दा २–० को सहज अग्रता लिएको थियो । तर, त्यसपछि पाहुना टोली मिलानले लगातार २ गोल गरेर घरेलु टोलीलाई संकटतर्फ धकेलेको थियो । तर, सब्सिच्युट खेलाडी रोड्रिगोले रियललाई प्रतियोगितामा रहिरहनका लागि आवश्यक ३ अंक जिताउन निर्णायक गोल गरेपछि रियल खराब स्थितिबाट उठेर अब सहज अवस्थामा आइपुगेको छ ।

आफ्नो घरमा रियलले खेलको २५औ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । मिलानका खेलाडीले आफ्ना गोलकिपरलाई दिएको ब्याक पास ठाउँसम्म पुग्न नपाउँदै बेन्जेमाले बीचैबाट बल खोसेर गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए ।

त्यसपछि रियलका लागि खेलको ३३औं मिनेटमा कप्तान सर्जियो रामोसले हेडिङमार्फत् गोल गरे । टोनी क्रुसको कर्नर किकमा रामोसले सुन्दर फिनिसिङमा गोल गरेपछि रियल खेलमा २–० ले अघि रह्यो । तर, दोस्रो गोल गरेको २ मिनेटमै रियलले गोल खायो । मिलानका लागि लौटारो मार्टिनेजले बारेल्लाको पासमा लो सटमा निकै सुन्दर गोल गरेपछि पहिलो हाफ २–१ मा टुंगियो ।

दोस्रो हाफमा खेल थप रोमाञ्चक बन्यो । रियल तेस्रो गोलको खोजीमा रहेका बेला मिलानले खेलको ६८औं मिनेटमा बराबरी गोल हान्यो । मार्टिनेजले बक्समा दिएको आकर्षक हेडिङ पासमा इभान पेरिसिचले चलाखीपूर्वक लो सटमा गोल गरेपछि खेल २–२ को बराबरीमा आइपुग्यो ।

मिलानसँगको खेल कुनै पनि हालतमा जित्नैपर्ने दबाबमा रहेको रियल बराबरी गोल खाएपछि थप दबाबमा पर्न गयो । अवस्था कठिन बनेपछि प्रशिक्षक जिनेदिन जिदानले लगातार ३ जना खेलाडी परिवर्तन गरेर भिनिसियस जुनियर, रोड्रिगो र लुका मोड्रिकलाई मैदान छिराए ।

खेलको ६४औं मिनेटमा मार्को एसेन्सियोको स्थानमा मैदान छिरेका रोड्रिगोले खेलको ८०औं मिनेटमा गोल हाने । भिनिसियस जुनियरले दौडाएर ल्याएको बल बक्स बाहिरबाट बक्सभित्र दिएको क्रस पासलाई नियन्त्रणमा लिएर रोड्रिगोले रकेट सटमा बललाई जाली चुमाएपछि खेल रियलले ३–२ ले जित्यो । रोड्रिगोको शक्तिशाली प्रहार रोक्न मिलानका गोलकिपरले प्रयाससमेत गर्न भ्याएनन्

यदि यो खेल जित्न सकेको थिएन भने रियलका लागि अन्तिम १६ को यात्रा झनै कठिन बन्ने थियो । जहाँ उसलाई लिगका अन्तिम ३ खेल सबै जित्नैपर्ने दबाब रहन्थ्यो । तर, मिलानलाई हराएपछि रियललाई ठूलो राहत मिलेको छ भने बाँकी खेलमा ऊमाथि अब दबाब पनि घट्नेछ ।

अब यो जितपछि रियल समूह ‘बी’मा ३ खेलबाट ४ अंक बनाएर तेस्रो स्थानमा छ । समान ४ अंक भएको युक्रेनको क्लब शाख्तर डोनेट्सक दोस्रो स्थानमा छ । जर्मनीको क्लब मोन्चेङ्लाडवाच ५ अंकसहित पहिलो स्थानमा छ । यस समूहमा टोलीहरूबीच ठूलो अंकको अन्तर नरहेकाले अझै पनि सबै टोलीका लागि अन्तिम १६ मा जाने विकल्प खुला छ । बाँकी ३ खेलको नतिजाबाट २ टोली अन्तिम ३२ बाटै आउट हुनेछन् भने २ टोली अन्तिम १६ मा जानेछन् ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार ०३:३५
Loading...