रोनाल्डो पहिलोपटक च्याम्पियन्स लिग खेल्ने टोलीमा समावेश

एजेन्सी, कात्तिक १८
इटालियन क्लब युभेन्टस प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ सिजन २०२०–२१ अन्तर्गत युरोपियन च्याम्पियन्स लिग खेल्ने टोलीमा पहिलोपटक समावेश भएका छन् । भोलि हुने समूह चरणको तेस्रो खेलका लागि युभेन्टसले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा रोनाल्डो पनि समेटिएका छन् ।

युभेन्टसले भोलि हंगेरीको क्लब फेरेन्सभारोससँग उसकै घरेलु मैदानमा समूह चरणको तेस्रो खेल खेल्दै छ । सो खेलका लागि युभेन्टस आजै हंगेरी प्रस्थान गरिसकेको छ । यो खेल दुवै टोलीको तेस्रो खेल हो ।

हाल समूह ‘जी’मा युभेन्टस २ खेल सकिँदा एक खेल जितेर ३ अंकसहित दोस्रो स्थानमा छ । स्पेनिस क्लब बार्सिलोना दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहँदा युक्रेनको क्लब डाइनामो किभ मात्रै १ अंकसहित तेस्रो स्थानमा छ । युभेन्टसलाई आफ्नो घरमा स्वागत गर्न लागेको फेरेन्सभारोस पनि १ अंकसहित चौथो स्थानमा छ ।

यसअघि कोराना भाइरसबाट संक्रमित बनेका रोनाल्डोले समूह चरणका दुई खेल गुमाएका थिए । युभेन्टसले पहिलो खेलमा डाइनामो किभलाई हराउँदा दोस्रो खेलमा बार्सिलोनासँग आफ्नै घरमा ०–२ ले पराजित भएको थियो ।

रोनाल्डोले नयाँ सिजनको पहिलो च्याम्पियन्स लिग खेलअघि ठीकठाक प्रशिक्षण पूरा गरेका छन् । २ दिनअघि मात्रै २० दिनपछि मैदान फर्किएका उनले सिरी ए लिग खेलमा ५६औं मिनेटमा बेन्चबाट मैदान छिरेरर पनि उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरिसकेका छन् । टोलीसँग बिनाप्रशिक्षण नै रोनाल्डो होम आइसोलेसनबाट सोझै खेलको दिन टोलीमा मिसिएका थिए ।

भोलि च्याम्पियन्स लिगको सिजनको पहिलो खेल खेल्दा रोनाल्डो उच्च मनोबलमा हुनेछन् । उनले पहिलो खेलबाटै सकेसम्म धेरै गोल गरेर आफ्नो उत्कृष्ट लयलाई ठीकठाक अघि बढाउने दाउमा छन् । गत सिजन रोनाल्डोले च्याम्पियन्स लिगमा सिजनभरमा ८ खेलबाट ४ गोल मात्रै गरेका थिए ।

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार २१:०४
Loading...