बार्सिलोना–डाइनामो किभको खेल स्थगित हुने सम्भावना प्रबल

एजेन्सी, कात्तिक १८
युरोपियन च्याम्पियन्स लिग फुटबलमा भोलि हुने स्पेनको क्लब बार्सिलोना र युक्रेनको क्लब डाइनामो किभबीच हुने खेल रोकिने सम्भावना बढेको छ । सो खेल स्पेनको समयअनुसार बुधबार राति र नेपाली समयअनुसार बिहीबार बिहान बार्सिलोनाको घरेलु मैदानमा हुने तय छ ।

तर, डाइमाको किभका खेलाडीमा कोरोना भाइरसको संक्रमण बढेपछि सो खेल अन्तिम समयमा पुगेर स्थगित हुने सम्भावना देखिएको छ । स्पेनिस मिडियाका अनुसार बार्सिलोनाविरुद्ध खेल्ने किभको सिनियर टोलीमा जम्मा १३ जना मात्रै खेलाडी सहभागी छन् । सो टोली सोमबारै स्पेन उत्रिसकेको छ ।

सिनियर टोलीका १३ जना मात्रै खेलाडी उपलब्ध भएपछि ६ जना टिम ‘बी’ का खेलाडीलाई समावेश गरिएको छ । दोस्रो टिमका खेलाडीसहितको टोली स्पेन उत्रिएको छ । तर, अब सिनियर टोलीका थप १ जना मात्रै खेलाडीमा कोरोना देखिए युइएफएको ‘कोरोना प्रोटोकल’ अनुसार नै सो खेल रोकिने पक्का छ ।

बाहिरबाट गएका खेलाडीको स्पेनमा पनि कोरोना जाँच हुनेछ । सुरुआतमा र खेलको २४ घन्टाअघि पनि कोरोना जाँच हुने हुँदा अन्तिम समयसम्म किभका कोही एक सिनियर खेलाडीमा कोरोना संक्रमण देखिए सो खेल स्वतः रोकिनेछ । पहिलो कोरोना जाँच मंगलबार भइसक्नेछ भने अर्को खेल समयभन्दा ठीक २४ घन्टाअघि । युइफएको नियमअनुसार च्याम्पियन्स लिगको खेल खेल्ने टोलीमा कम्तीमा १३ जना सिनियर खेलाडी रहनुपर्छ ।

साथै, कोरोना प्रोटोकलअनुसार एकै टोलीका ६ जनाभन्दा बढी खेलाडी कोरोनाबाट संक्रमित भने सो टोलीको खेल स्वतः स्थगित हुनेछ । अmझै पनि किभका खेलाडीमा कोरोना संक्रमण देखिए खेल दौरान बार्सिलोनाका खेलाडीलाई समेत संक्रमण फैलिन सक्ने खतरा हुने हुँदा सो खेल स्थगित हुने देखिन्छ ।

अहिले किभका ६ जना खेलाडमिा कोरोना संक्रमण देखिइसकेको छ । संक्रमित खेलाडीमा निकोलाई सापेरेन्को, अलेक्सान्डर काराभेभ, गुइएरगुई, डेनिस जर्मास, मिकेल ड्युलन्ड र टुडोर बालुटा रहेका छन् । त्यसैगरी, किभका सहायका प्रशिक्षक इमिल कारास र अन्य ४ जना स्टाफमा समेत कोरोना संक्रमण छ ।

किभको पहिलो रोजाइका गोलकिपर डिनेज बोइको र हेओरिही बुस्चानसमेत चोटका कारण खेल्न सक्ने स्थितिमा छैनन् । यस्तो बेला प्रशिक्षक मिरेसिया लुसेसुले दोस्रो टिमका गोलकिपरलाई टोलीमा डाकेका छन् । किभका सबैजसो अनुभवी र प्रमुख खेलाडी चोट र कोरोनाका कारण स्पेन भ्रमणमा छैनन् । भ्रमण टोली औसतमा २२ वर्ष उमेरका खेलाडी मात्रै रहेका छन् ।

बार्सिलोना र किभ समूह ‘जी’मा छन् । यस समूहमा बार्सिलोनाले सुरुआतका दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । किभ १ अंकसहित तेस्रो स्थानमा छ । ३ अंक भएको युभेन्टस दोस्रो स्थानमा छ ।

यदि अहिले यो खेल स्थगित भए अर्को खेल तालिका तय गर्न कठिन देखिएको छ । कोरोनाका कारण यसपटक क्लबहरूको व्यस्त खेल तालिका रहेकाले स्थगित खेल खेलाउन सहज देखिँदैन । यदि स्थगित खेल पुनः खेलाउन नसकिए दुवै टिमले १–१ अंक पाउने नियम छ ।

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार १७:२०
Loading...