रियलसँग भिड्नुअघि ‘बार्सिलोनाको नाम लिँदै’ भिडालले दिए कडा चेतावनी !

एजेन्सी, कात्तिक १८
युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको तेस्रो खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब इन्टर मिलान आज राति भिड्दैछन् । सो खेल रियलको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । समूह ‘बी’मा हाल मिलान २ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा छ भने २ खेलबाट १ अंक जोडेको रियल चौथो स्थानमा छ ।

रियलसँगको खेलअघि मिलानका चिलियन मिडफिल्डर अर्टुरो भिडालले स्पेनिस क्लबलाई कडा चेतावनी दिएका छन् । भिडाल अस्ति भर्खर समर विन्डोमा बार्सिलोना छाडेर मिलान पुगेका थिए । बार्सिलोनामा रहँदा उनले पटक–पटक इएल क्लासिको रियलविरुद्ध खेलिसकेका छन् । स्पेन छाडेपछि उनले पहिलोपटक आज राति रियलको सामना गर्न लागेका हुन् ।

रियलसँगको खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै भिडालले च्याम्पियन्स लिगमा रियललाई हराएर आफूले बार्सिलोनाका फ्यानहरूसँग खुसी साट्न आतुर रहेको बताएका छन् । रियल र बार्सिलोना एकअर्काका कट्टर प्रतिस्पर्धी रहेकाले मिलानले रियललाई हराउँदा बार्सिलोनाका फ्यान खुसी हुने भिडालले बताएका छन् ।

‘म यस खेलका लागि धेरै नै उत्साहित छु । मलाई लाग्छ, यो एक राम्रो खेल हुनेछ । मैले बार्सिलोनामा विगतमा दुई सिजन खेलिसकेको छु । त्यसक्रममा रियलविरुद्ध पनि खेलेको छ । त्यसैले भोलि रियललाई उसकै घरमा हराएर म बार्सिलोनाका फ्यानहरूसँग मिठो खुसी साट्न चाहन्छु,’ भिडालले भनेका छन् ।

त्यसो त भिडाल सधैं रियलबाट पीडित खेलाडी हुन् । उनी बार्सिलोनामा जानुअघि जर्मन क्लब बार्यन म्युनिखमा छँदा च्याम्पियन्स लिगमा दुई–दुईपटक रियलसँगै हारेर प्रतियोगिताबाट आउट भएको थियो । बार्यन सन् २०१७ र २०१८ मा रियलसँग हार्दा भिडाल बार्यनमै थिए । बार्सिलोना गएपछि पनि भिडालले रियलबाट नमिठो हार भोगेका थिए ।

भिडालले गत सिजन बार्सिलोनाबाट रियलसँग दुई खेल खेल्दा पनि जित्न नसकेको कुरा पनि सम्झिए । ‘गत सिजन मैले बार्सिलोनाबाट रियलविरुद्ध दुई खेल खेलें । तर, जित प्राप्त गन सकिएन । तर, आज एक अवसर छ । म मिलानको जर्सीमा रियललाई हराउन चाहन्छु,’ भिडालले थपे, ‘त्यसका लागि म जे गर्न पनि तयार छु ।’

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार १२:४४
Loading...