च्याम्पियन्स लिग : इन्टर मिलानसँग रियल मड्रिड ‘गर कि मर’को अवस्थामा खेल्दै

काठमाडौं, कात्तिक १८
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज विभिन्न ८ खेलहरू हुँदैछन् । समूह चरणअन्तर्गत आज तेस्रो राउन्डका खेलहरू हुन लागेका हुन् । आज हुने खेलहरूमध्ये स्पेनिस रियल मड्रिड र इटालियन इन्टर मिलानको खेलमाथि धरैको नजर छ । यो खेल रियलको ‘बी’ टिमको घरेलु रंगाशाला अल्फ्रेडो डे स्टेफानो रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

आज मिलानलाई आफ्नो घरेलु मैदानमा भित्र्याउँदा रियल अर्को दबाबमा हुनेछ । यसअघि समूह चरणका दुई खेलमा जितविहीन बनेको रियलले मात्रै १ अंक जोडेर अंक तालिकाको सबैभन्दा पुछारमा रहेको छ । उसले पहिलो खेल युक्रेनको क्लब शाख्तर डोनेट्स्कसँग आफ्नै घरमा ०–१ ले हारेको थियो भने दोस्रो खेलमा जर्मन क्लब मोन्चेङ्लाडवासँग अवे मेदानमा २–२ को बराबरी खेलेको थियो ।

यता, मिलान पनि हालसम्म जितविहीन नै छ । उसले अघिल्ला २ वटै खेलमा बराबरी गर्दै २ अंक जोडेर तेस्रो स्थानमा छ । आज ऊ रियललाई हराएर अर्को चरणको सम्भावना बढाउने दाउमा छ । तर, रियलको घरमा मिलानलाई जितको नतिजा निकाल्न सहज भने हुनेछैन ।

रियलका लागि आज मिलानसँगको खेल समूह चरणको सबैभन्दा महत्त्वपूर्ण खेल हुनेछ । यो खेलको नतिजाले नै रियल प्रतियोगितामा बाँकी रहने कि समयमै आउट हुने भन्ने कुराको टुंगो लाग्नेछ । रियल आजको खेलमा हरहालतमा जित निकालेर अन्तिम १६ मा जाने ढोका खुला गर्न चाहन्छ । तर, यदि पराजित भए वा बराबरी भए रियलका लागि आगामी यात्रा भाग्यभरोसामा मात्रै हुनेछ ।

आजको खेल खेलिसक्दा रियलको हातमा अन्तिम ३ खेल मात्रै बाँकी रहन्छन् । आज जित्न नसके रियलमाथि बाँकी अन्तिम ३ खेल जित्नैपर्ने दबाब हुन्छ । तर, आजको खेल जिते उसका लागि आगामी यात्रा दबाबपूर्ण हुनेछैन । तसर्थ, रियल आज घरेलु मैदानमा युरोपको एक बलियो टोलीविरुद्ध गर कि मरको अवस्थाबाट खेल्नेछ ।

आज रियलको टोलीमा सबैजसो प्रमुख खेलाडी हुनेछन् । अघिल्लो खेलबाट टोलीमा फर्किएका इडेन हाजार्ड पनि आजको खेलमा उपलब्ध हुनेछन् । आजको खेलमा पनि जिदानले अघिल्लो खेलकै फर्मेसनमा फ्रन्ट लाइनमा हाजार्डसँगै करिम बेन्जेमा र मार्को एसेन्सियोलाई उतार्ने सम्भावना छ ।

यसअघि रियलले आफ्नो घरमा हुएस्कालाई ४–१ ले हराउँदा रियलले उत्कृष्ट प्रदर्शन गरेको थियो । हाजार्डले लामो समयपछि टोलीमा फर्किएर प्रभावशाली प्रदर्शन गर्दै गोलसमेत गरेका थिए । आजको खेलमा पनि हाजार्ड रियलका लागि प्रमुख खेलाडी हुनेछन् ।

प्रकाशित मिति १८ कार्तिक २०७७, मंगलवार ११:४४
Loading...